बानेश्वरमा रहेको सूर्योदय ज्योति ‍सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ठगी मुद्दा, सबै फरार



काठमाडौं । काठमाडौं महानगरपालिका-१० बानेश्वरमा रहेको सूर्योदय ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले आइतबार ठगी कसुरमा अभियोग दर्ता गरेको छ ।

सहकारीबाट ठगिएका १६ जना पीडित बचतकर्ताले ८ लाख १८ हजार ४ सय ६० रुपैयाँ माग दाबी गर्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि ठगी गरेको आरोप अभियोग दर्ता भएको हो । अहिले अध्यक्षसहित ७ जना नै फरार रहेको प्रहरीले जनाएको छ ।

सहकारीका अध्यक्ष दिपेन्द्रकुमार शाह, उपाध्यक्ष राजकुमार शाह, सचिव घनश्यामप्रसाद शाह, कोषाध्यक्ष शम्भुप्रसाद गुप्ता, सदस्य प्रिती कुमारी, सदस्य विमलादेवी कलवारनी र सदस्य पुष्पाकुमारी भगत फरार रहेका छन् ।

सहकारीले बचतकर्तालाई १४ प्रतिशत ब्याज दिने भन्दै प्रलोभनमा पारेर ठगेको अभियोग पत्रमा उल्लेख छ ।


क्लिकमान्डु