घुमाएर थप ऋण दिँदा बैंकहरुको खराब कर्जा अनुमान गरेजति नबढ्ने, वित्तीय प्रणालीको जोखिम कायमै



सावाँ ब्याज तिर्न नसकेका व्यवसायीलाई घुमाउरो बाटोबाट थप कर्जा लगानी गर्दै बैंक तथा वित्तीय संस्थाले खराब कर्जा बढ्नबाट रोक्ने प्रयास गरेका छन् । यस्तो अभ्यासले वित्तीय क्षेत्र तत्काल बलियोजस्तो देखिए पनि प्रणाली भने थप कमजोर बन्दै जाने जोखिम छ ।

काठमाडौं । गत चैत मसान्तमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्नसक्ने अनुमान गरेका थिए ।

बैंकहरुमा सुपरिभिजनका आएका राष्ट्र बैंकका अधिकारीहरुले असार मसान्तमा बैंकिङ प्रणालीको खराब कर्जा ५ देखि ६ प्रतिशतको हाराहारीमा पुग्ने भन्दै त्यसका लागि तयार रहन सुझाएका थिए ।

राष्ट्र बैंकले यसो भनेपछि बैंकरहरु अत्तालिए । त्यसपछि उपाय खोज्न थाले । बैंकरहरुले खराब कर्जा बढ्न नदिन ‘साम-दाम दण्ड-भेद’को नीति अख्तियार गरे । उनीहरुले ऋणीलाई फकाएर, हप्काएर, थर्काएर र थप ऋण दिएरै भए पनि असूली निकै राम्रो देखाउने भएका छन् । जसकारण राष्ट्र बैंकले अनुमान गरेजस्तो असार मसान्तमा बैंकहरुको खराब कर्जा पुगेको छैन । त्यसो त बैंकहरुको वित्तीय विवरण आउनै बाँकी छ । यद्यपि बैंकरहरुसँग कुरा गर्दा अधिकांशले चैत मसान्तै हाराहारीमा खराब कर्जाको अनुपात रहने अनुमान सुनाएका छन् ।

गत चैत मसान्तमा बैंक वित्तीय संस्थाको खराब कर्जा ३.२३ प्रतिशत पुगेको थियो । जबकी, अघिल्लो वर्ष चैत मसान्तमा बाणिज्य बैंकहरुको खराब कर्जा १.४४ प्रतिशत मात्रै थियो ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठ विगतका वर्षहरुमा भन्दा गत वर्ष खराब कर्जा बढेपनि नेपालको बैंकिङ क्षेत्र बलियो अवस्थामा रहेको बताउँछन् ।

विभिन्न सार्वजनिक कार्यक्रमहरुमा राष्ट्र बैंकका उच्च अधिकारीहरुले आर्थिक गतिविधि सुस्त हुँदा बैंक वित्तीय संस्थाको खराब कर्जा बढ्न सक्ने भएपनि नेपालको बैंकिङ क्षेत्र बलियो अवस्थामा रहेको बताउँदै आएका छन् ।

यस्तै, विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतले समेत असार मसान्तमा बैंक वित्तीय संस्थाको खराब कर्जा ४ प्रतिशतमाथि पुग्न सक्ने अनुमान गरेका थिए । तर, अहिले बैंक वित्तीय संस्थाका सीईओहरु विगतमा गरेको पूर्वानुमान अनुसार असार मसान्तमा खराब कर्जा नबढ्ने बताउन थालेका छन् ।

‘बैंक वित्तीय संस्थामा तरलता सहज भएपछि खराब कर्जा नबढ्ने भएको छ,’ एक बैंकका सीईओले क्लिकमान्डुसँग भने, ‘बैंकहरुले विभिन्न नाममा कर्जा लगानी गर्दै सावाँ ब्याज उठाएका छन् । जसले गर्दा खराब कर्जा नबढ्ने भएको हो ।’

राष्ट्र बैंकको सुपरभिजन विभागका एक अधिकारी विगतदेखि एभरग्रिनिङ (ऋणको सावाँ ब्याज तिर्न थप कर्जा लगानी) गर्दै आएका बैंक वित्तीय संस्थाले यसपटक पनि सावाँ ब्याज तिर्न थप ऋण लगानी गरेर खराब कर्जा घटाएको बताउँछन् ।

‘आफ्नो कार्यकालमा बैंकको तथ्यांक खराब नहोस् भनेर बैंकरहरुले विभिन्न लुपहोलबाट थप कर्जा दिएर सावाँ ब्याज असुल गरेका छन्,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘जग्गा बिक्री गरेर कर्जा फरफारक गरेर प्रणाली सुधार नगरी भविष्यमा जग्गाको मुल्य बढ्न सक्छ भनेर ऋणीलाई लोभ देखाएर थप कर्जा लगानी गर्नु राम्रो होइन ।’

खराब कर्जा घटाउन यसरी गरियो कर्जा लगानी

गत आर्थिक वर्षको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाले २४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गत असार ३० गतेसम्म बैंक वित्तीय संस्थाले ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

आर्थिक वर्षको अन्तिम दिन बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले २४ अर्ब रुपैयाँ कर्जा लगानी भएपनि गत वर्षको अन्त्यमा बैंक वित्तीय संस्थाले कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अघिल्लो वर्षको असार मसान्तमा ४७ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक वित्तीय संस्थाको कर्जा लगानी एक वर्षको अवधीमा ३.६ प्रतिशतले बढेको छ ।
आर्थिक वर्षको अन्तिम दिन लगानी भएको अर्बाैं रुपैयाँ कर्जाको सावाँ र ब्याज तिर्न प्रयोग भएको बैंकरहरु बताउँछन् ।

‘अहिलेसम्म लगानी भएको ऋण प्रयोग गर्दै आम्दानी गर्न नसकेका व्यवसायीलाई वैकल्पिकबाटोबाट थप कर्जा लगानी गर्नु गलत हो,’ राष्ट्र बैंकका अधिकारीहरु भन्छन्,‘बैंकरको चासो प्रणाली बलियो बनाउनुभन्दा पनि आफ्नो कार्यकाल सफल गराउनेमा केन्द्रित छ ।’

बैंकहरुले यी विकल्प प्रयोग गर्दै ऋणीलाई थप कर्जा लगानी गरेका छन् ।

१. सेयर लगानी गर्न कर्जा

ऋण लिएको संस्थालाई थप कर्जा दिन नमिल्ने भएपछि बैंकहरुले उक्त संस्थाका शेयरधनीलाई ऋण दिएका छन् । कम्पनीको शेयरधनीले बैंकबाट ऋण लिने प्रयोजन थप शेयर पुँजी लगानी देखाएको छ ।

व्यवसास घाटामा गएर सावाँ ब्याज तिर्न नसकेका कतिपय कम्पनीका मालिकाले बैंकबाट ऋण लिन कम्पनीबाट लिने तलब र दोस्रो बजारको कमाईलाई आम्दानीको स्रोत देखाएका छन् ।

बैंकले ऋण लिने प्रयोजन शेयर लगानी र आम्दानी स्रोत देखाउँदै ऋण दिएको छ । त्यसरी बैंकबाट लिइएको ऋण कम्पनीमा शेयर लगानी पनि गरिएको छ । कम्पनीमा शेयर लगानीबाट प्राप्त रकमलाई पुरानो सावाँ र ब्याज तिर्न प्रयोग गरिएको छ । जसले गर्दा बैंक वित्तीय संस्थाको खराब कर्जा घटेको छ ।

२. कम्पनीको नाममा जग्गा बिक्री

एक बैंकका अधिकारीका अनुसार बैंकले व्यवसाय सञ्चालन गरिरहेको जग्गा कम्पनीको शेयरधनीको भए उक्त जग्गा खरिद गर्न कर्जा दिएका छन् । आम्दानी नभएर सावाँ ब्याज तिर्न नसकेको कम्पनीले बैंकबाट ऋण लिँदै आफ्नो शेयर धनीबाट जग्गा खरिद गरेको छ ।

कम्पनीको सञ्चालकले आफ्नो जग्गा बिक्री गर्दै प्राप्त भएको रकम घाटामा सञ्चालित संस्थामा शेयर पुँजीको रुपमा लगानी गरेका छन् । कम्पनीमा शेयर लगानीको रुपमा प्राप्त भएको रकम बैंक तथा वित्तीय संस्थामा पुरानो ब्याज तिर्न प्रयोग गरिएको छ ।

३. नयाँ कम्पनीमा ऋण लगानी

ठूला व्यवसायीले विभिन्न संस्थाबाट व्यापार गरेका हुन्छन् । तर, सबै संस्थाबाट कर्जा लिएका हुँदैनन् । बैंकले हालसम्म कर्जा नलिएका संस्थामा ऋण लगानी गर्दै घुमाएर पुरानो सावाँ ब्याज असुल गरेका छन् ।

राष्ट्र बैंकका अधिकारीहरु साउन १५ सम्म साँवा ब्याज चुक्ता गरिए खराब कर्जा देखाउनु नपर्ने व्यवस्थाले केही बैंकले चालू आर्थिक वर्षमा ऋणीलाई चालू पुँजी प्रकृतिको कर्जा दिएर पनि खराब कर्जा घटाएको बताउँछन् ।

‘चालू पुँजीकर्जा सम्बन्धी नीतिले आर्थिक वर्षको अन्तिम महिना र त्रैमाशको अन्तिम साता कर्जा लगानी गर्न रोक लगाएपनि बैंकहरुले अर्काे महिना कर्जा लगानी गरेर पनि साँवा ब्याज असुल गरेका छन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने,‘लुपहोलबाट हिसाब मिलाउन सधैं सकिदैन भन्ने बैंकर साथीहरु बुझ्न चाहनु हुन्न । खराब कर्जा लुकाएर वित्तीय क्षेत्र अपरादर्शी बनाउनुभन्दा वास्तविक तथ्यांक बाहिर ल्याउनु पर्छ ।’

पूर्वबैंकरहरु पनि यस्तो अवस्थामा पनि खराब कर्जा अनुमान गरेअनुसार नबढ्नुलाई शंकाको दृष्टिले हेर्नुपर्ने बताउँछन् ।


शरद ओझा