वैदेशिक रोजगारीमा जानेलाई ३३ कम्पनीले ल्याए ३ अर्ब ७० करोडको आईपीओ
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ)मा आरक्षण दिएपछि ३३ वटा कम्पनीले आरक्षणमा सेयर जारी गरेका छन् ।
विदेशमा रहेका नेपालीका लागि पहिलो पटक २०७९ मंसिर १४ गते कालिन्चोक दर्शन प्रालीले सेयर निष्कासन गरेको थियो । २०७९ मंसिर १४ देखि २०८० साउन ४ गतेसम्म आइपुग्दा ३३ वटा कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर समेत निष्कासन गरिसकेका छन् ।
धितोपत्र बोर्ड का अध्यक्ष रमेश हमालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयरमा आरक्षण दिँदा हुन्डीको कारोबार कम भएको, विदेशी विनियम सञ्चिती ५ महिनाबाट ११.२ महिनाका लागि पुगेको बताएका छन् ।
बोर्ड अध्यक्ष हमालले विदेशमा रहेका नेपालीका लागि सेयरमा आरक्षण दिँदा हुन्डीको कारोबार घटेको, विदेशी विनियम सञ्चिती बढेको भनेर पटक पटक भन्दै आएका छन् । असार ५ गते बसेको अर्थ समितिको बैठकमा समेत अध्यक्ष हमालले आफू बोर्डमा आएपछि ५ महिनाको विदेशी विनिमय सञ्चिति ११ महिना पुगेको र हुन्डीको कारोबार कम हुँदै गएको बताएका थिए ।
‘म बोर्डमा आएपछि आईपीओमा १० प्रतिशत आरक्षण दिँदा ५ महिनाको विदेशी विनिमय सञ्चिति बढेर ११ महिना पुगेको छ । सेयरमा आरक्षणको नीतिले हुन्डी कारोबार घटेको हो,’ उनले भने, ‘म बोर्डमा आएपछि अर्थतन्त्रको नयाँ हाइवे खुलेको छ, वर्षौंदेखि हुन नसकेका काम मैले अघि बढाएको छु ।’
अहिलेसम्म २२ वटा कम्पनीले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १ करोड १ हजार २९८ कित्ताका सेयर निष्कासन गरेका छन् । उक्त सेयरमा ३ अर्ब ७० करोड ३ लाख ११ हजार ५७६ रुपैयाँको आवेदन परेको छ ।
२ करोड ४७ लाख ८७ हजार ९७० कित्ताका लागि ५ लाख ६९ हजार ८८१ वटा आवेदन परेका छन् । ३३ वटा कम्पनीले १ करोड १ हजार २९८ कित्ता सेयर छुट्याएका छन् ।
यो अवधिमा विदेशमा रहेका नेपालीका लागि ९ हजार ७ सय कित्तादेखि १२ लाख कित्तासम्म सेयर निष्कासन गरेको छ । यो अवधिमा धेरै जलविद्युत कम्पनीले सेयर निष्कासन गरेका छन् । ३३ वटा कम्पनीमा २० वटा जलविद्युत कम्पनीले सेयर निष्कासन गरेका छन् ।
यस्तै चार वटा बिमा कम्पनीले पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेका छन् । सुरु–सुरुमा आईपीओमा मागअनुसार आवेदन पर्न समस्या हुने गरेको भए पनि अहिले मागभन्दा बढी आईपीओ परेका कारण बाँडफाँड पनि गोलाप्रथाबाट हुने गरेको छ ।
अहिले पनि सिटिजन्स लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट नेपाल, मान्डु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी र सन नेपाल लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेका छन् । माण्डु हाइड्रोको आईपीओमा विदेशका रहेका नेपालीले आवेदन दिने बिहीबार अन्तिम दिन हो ।
यसअघि कालिन्चोक दर्शनदेखि बिपीडब्लू लघुवित्त, सिटी होटल, घोराही सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, आईएमई लाइफ इन्स्योरेन्ससम्मले विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेका छन् ।
सूचीकृत कम्पनीहरुले विदेशमा रहेका नेपालीलाई आरक्षणमा सेयर जारी गर्दा त्यसको प्रभाव राम्रो रहेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।
उनका अनुसार विदेश श्रम गरिरहेका नेपालीले आफुले कमाएको थोरै रकम भएपनि सेयर बजारमा लगानीगर्दा त्यसले भविष्यमा राम्रो प्रतिफल दिनेछ । यो लगानीको माध्यम भएको उनको भनाइ छ । आईपीओबाट लगानी गर्दा विदेशमा रहे पनि सेयर बजारप्रति चासो बढ्ने उनले बताइन् ।
कुनको कति ?