४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड हाइड्रोपावर बन्ने



काठमाडौं । १ हजार ६०७ मिलियन अमेरिकी डलरको लगानीमा ४१७ मेगावाट क्षमताको नलस्याउगाड (नलगाड) जलाशययुक्त जलविद्युत आयोजना बन्ने भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा रहेको नलगाड नदीमा आधारित रहेर यो जलविद्युत आयोजना बन्ने भएको हो । नलगाड हाइड्रोपावर कम्पनी लिमिडेटले निर्माण गर्ने यो आयोजनाको वातावरणिय मूल्यांकन प्रतिवेदन (ईआईए) सार्वजनिक गर्दै सुझावहरु समेत मागिएको छ ।

आयोजनाको लागत प्रसारण लाइन बिना १६०७ मिलियन अमेरिकी डलर पर्ने उल्लेख गरिएको छ । त्यस्तै, प्रसारण लाइनसहित भने आयोजनाको लागत १७७५ मिलियन अमेरिकी डलर पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणका लागि ७ वर्ष ५ महिना समय लाग्नेछ ।

यो जलविद्यूत आयोजा जलाशययुक्त आयोजना हो । यो आयोजनाले नलगाड नगरपालिकाको वडा नम्बर २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रभाव पार्नेछ ।

आयोजनाको बाँध २४८ मिटर अग्लो, र लम्बाई ४९५ मिटरको रहनेछ । विद्युत उत्पादन गृह दल्लीस्थित झोलुङ्गे पुलबाट ५ सय मिटर माथि नलगाड नदीकै देब्रे किनारमा राखिने प्रतिवेदनमा उल्लेख छ ।

आयोजनामा विद्युत उत्पादनका लागि १०४.२५ मेगावाट क्षमताका चार वटा पेल्टन टर्बाईनहरु जडित रहनेछन् । आयोजनाको कुल उत्पादन क्षमता ४१७ मेगावाट रहेको छ ।

वार्षिक रुपमा सुख्खा मौसममा उर्जा उत्पादन ६०४ गिगावाट घण्टा र वर्षा मौसमको विद्युत उत्पादन ६७५.५ गिगावाट घण्टा हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना निर्माणका लागि कुल वन क्षेत्र १९७.९१७५ हेक्टर चाहिने र आयोजना निर्माण गर्दा कुल ११७२ घरधुरीका ७२८४ जनसंख्या विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको सामुदायिक सहयोग कार्यक्रमको लागि आयोजना रकम १ खर्ब २१ अर्ब ९१ करोड ४० लाखको ०.५० प्रतिशत अर्थात ६० करोड ९५ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, आयोजनाका लागि प्रयोग हुने सरकारी जग्गाको क्षतिपूर्ति तथा रुख÷विरुवामा पुग्न जाने क्षतिको क्षतिपूर्तिको लागि ९ करोड ९० लाख ९० हजार ५५० रुपैयाँ छुट्याइएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई कोहलपुर सबस्टेसनमा जोडिनेछ । यसका लागि ११२ किमि तथा ४ सय केभीको प्रसारणलाइनमार्फत विद्यूतलाई प्रसारण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु