होटल संघले भन्यो- मौद्रिक नीतिले वर्तमान समस्या समाधान गर्दैन
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसक्ने होटल संघ नेपालले जनाएको छ ।
कोभिड–१९, रुस र युक्रेनको युद्धबाट चरम आर्थिक मन्दीको दबाबमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनर्कर्जा, पुनर्तालिकीकरण जस्ता मौद्रिक उपायका साथै कम ब्याजदरको व्यवस्थाबाट यस क्षेत्रको जगेर्ना गर्न मौद्रिक नीतिले कुनै पहल नलिएको होटल संघको आरोप छ ।
चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको र आर्थिक गतिविधि पनि बढेको बताए पनि निरन्तर थपिँदै गएका तारेलगायतका होटलको कुल क्षमताको एक तिहाईभन्दा पनि कम क्षमता उपयोग भएको तर्फ मौद्रिक नीतिले बेवास्ता गरेको संघको ठहर छ ।
वर्तमान अवस्थामा होटलहरु बैंकलाई नियमित बुझाउनुपर्ने साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ । गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु/बुझाउनुपर्ने साँवा ब्याजलाई पुनर्कर्जा तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको भए पनि हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा विश्वविख्यात होटल ब्रान्डहरु भित्रिने क्रम बढ्दै गए पनि मौजुदा मौद्रिक नीतिले यथेष्ट प्रोत्साहन गर्न नसकेको होटल संघको बुझाइ छ । ग्राहक पर्यटकका लागि उपयोग गर्ने तरकारीलगायतका कच्चा पदार्थमा लगाइएको कर र विलासिलाका नाममा लिइएको करबाट पनि मुलुकमा पर्यटन अभिवृद्धि गर्न अप्ठ्यारो परेको संघले जनाएको छ ।
‘यस परिप्रेक्ष्यमा केन्द्रीय बैंकले लगानी आकर्षित गर्न र लगानी भइसकेका होटललाई प्रोत्साहन गर्न मौद्रिक नीतिको कार्यान्वयनमा आउने निर्देशिकाले उपयुक्त ढंगबाट सम्बोधन गरी होटल क्षेत्रलाई स्थायित्व प्रदान गर्ने छ भन्ने यस विश्वास लिएका छौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकका कार्यक्रमलाई सार्थक तुल्याउन लगानीकर्तालाई प्रोत्साहित गर्ने र अर्थतन्त्र चलायमान बनाउने गरी निर्देशिका आउने संघको अपेक्षा छ ।