गृहमन्त्रीमाथि एमाले अध्यक्ष ओलीको आक्रोश, भन्छन्- गैरजिम्मेवार नबन्नुस्, सुन तस्कर पत्ता लगाउनुस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कम्बोडियाको भ्रमण गरेर सोमवार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले गृहमन्त्री गैरजिम्मेवार र बत्तमिजी भएको आरोप लगाए । ‘गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्छ ।’

विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै ओलीले प्रश्न गरे । गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले चेतावनी दिए । कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै ओलीले प्रश्न गरे

एक सञ्चारमाध्यमले सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति पनि ओलीले आपत्ति जनाए । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिए उनको आरोप छ ।

सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुरा मोड्ने काम गरिरहेको ओलीले बताए । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइकन एमालेले नछोड्ने दृढता व्यक्त गरे । ‘सुन बोक्नेभन्दा पनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर बस्दैन,’ उनले भने ।

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताएका हुन् । अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गरे ।


क्लिकमान्डु