घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु
दाङ । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ’, उनले भने , “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।”
हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ ।
घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा रु एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो ।
यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो ।
ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए । “चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो”,उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए ।
सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् ।“सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ”, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,“पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।”