राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छः शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् ।
आइतवार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे । कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने उनको भनाइ छ ।
राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने उनको भनाइ छ । केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने उनले बताए ।
‘हामीले कस्तो किसिमको क्रियाशील दिदैँछौं ? केन्द्रबाट दिदैँछौं, हामीले वडा, टोलबाट दिइरहेका छौं कि ? क्रियाशिल सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि कांग्रेसको नीति ठिक हो भनेर । तसर्थ बढाउनतर्फ नलागौँ । राम्रो मान्छे चुनेर मात्रै गरौँ ।’ उनले भने ।
नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जानेमात्र नभइ रुपान्तरण गर्नुपर्नेमा जोड दिए । पार्टीभित्रको गुट, उपगुट अन्त्य गर्नुपर्ने उनले बताए ।