अर्थतन्त्र पहिलोपटक आर्थिक संकुचनमा परेको छ: विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले नेपालको अर्थतन्त्र पहिलोपटक आर्थिक संकुचनमा परेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले अर्थतन्त्रमा दुई वर्ष अघिको राजस्वको तहमा राजस्व उठाउन नसकिएको बताएका छन् ।

‘पहिलोचोटी नेपालको इकोनोमी सिर्न्क भएको स्थिति छ । नेपालको इकोनोमिमा अघिल्लो दुई वर्षको राजस्वको तहमा हामीले राजस्व उठाउन सकेनौं’ चौधरीले भने, ‘हामीले विनियोजन गरेको विकासको क्षेत्रमा साधारण खर्चसमेत कहाँबाट गर्ने हो भन्ने चुनौती आगामी दिनमा छ ।’

यसपटकको राजस्वको अवस्थालाई हेर्ने हो भने अत्यन्त कठिन अवस्था रहेको उनले बताए । यसको दोष अर्थमन्त्रीलाई दिन नमिल्ने उनको भनाइ छ ।

‘बैंकहरुमा धेरै तरलता हुँदा हुँदै पनि राजस्वको यो पटकको अवस्थालाई हेर्ने हो भने अत्यन्त कठिन छ । म अर्थमन्त्रीलाई दोष दिन चाहन्न । किन भने यो इनहेरिट गरेको लिगेसी इकोनोमी हो’ चौधरीले भने ।

जनताले रोजगारी/लगानी चाहेको चौधरीले बताए । जनताले आर्थिक विकास चाहेकोले त्यसलाई सम्बोधन गर्नका कांग्रस पूर्णरुपमा सक्षम छ भनेर सन्देश दिन जरुरी रहेको र यसमा पार्टी खरो उत्रनु पर्ने उनले बताए ।

‘विदेशमा भएका युवाहरुले पुराना पार्टीका कारण हामी यहाँ आउनु पर्यो त्यसैले पुराना पार्टीलाई भोट दिन हुँदैन भनेर जुन नारा लगाइरहेका छन् त्यसलाई चिर्न कांग्रेसले आफूलाई रुपान्तरित गर्दै ती एजेन्डामा अघि बढ्न जरुरी छ’, चौधरीले भने, ‘इतिहास बेकोको पार्टी संगठित भएर रुपान्तरणलाई प्राथमिकताको केन्द्रबिन्दुमा राखेनौं भने भोलिका दिनमा असज हुनेछ ।’

रोजगारीको खोजीमा ५ लाखभन्दा बढी युवा रोजगारी बजारमा प्रवेश गर्ने गरेको भए पनि ५० हजारलाई पनि सरकारी र निजी क्षेत्रबाट रोजगारी दिन नसकिरहेको भन्दै उनले यसका लागि योजना बनाउन आवश्यक रहेको बताए ।

‘त्यसका लागि हाम्रा भावी दिनका योजना के हुने हो ? पार्टीले वडादेखि माथिसम्म रोजगारीका नयाँ नयाँ अवसरहरु सिर्जना गर्नेवाला छौं भनेर भन्नु पर्यो’ उनले भने ।

नयाँ आएका दलहरुले प्रविधिको व्यापक प्रयोग गरिरहेको चौधरीले बताए । पुराना भनिएको कांग्रेसले पनि आफूलाई रुपान्तरित गर्न ढिला भइसकेको उनको भनाइ छ ।

‘नयाँहरुले जुन किसिमका नारा लगाइरहेका छन् प्रविधिका माध्यमबाट, सदस्यता परिचालित गरिरहेका छन्, सदस्य मात्र होइन भोटर र आर्थिक मोबिलाइजेसन गरिरेहका छन्,’ चौधरीले भने, ‘हामीले संगठित भएर यस्ता विषयलाई प्राथमिकताको केन्द्रबिन्दुमा राखेनौं भने आगामी दिन सहज हुने छैन । ‘

त्यसका लागि नयाँ आत्मविश्वासको सिर्जना गर्ने आवाज र अनुहार अघि बढाउनु पर्ने उनले बताए ।

‘नयाँ आत्मविश्वासको सिर्जना गर्ने आवाज र अनुहारहरु जो जनताको अगाडि विक्छन्, जसको बोली विक्छ त्यस्तालाई पार्टीले अघि नबढाउने हो भने पनि फेरि पनि देशभित्र र बाहिरका मानिसहरुको मानसिकताको नारामा पुराना पार्टीले थप चुनौती फेस गर्नुपर्ने छ’ चौधरीले भने ।

चौधरीले नेपाली पैसालाई विदेश जानबाट रोक्न र विदेशी शिक्षा नेपालमा दिन सकिने बताए । ‘शिक्षामा २ खर्बरुपैयाँ बाहिरियो । बाहिर पढाउनका लागि । जहाँ नेपालीका बालबालिका घरबार बेचेर गइरहेका छन्, ति संस्थालाई नेपालमा ल्याएर ठूलो सञ्जाल बनाउन सकेनौं भने नेपालका ट्यालेन्टहरु कहिले नेपाल फर्किने छैनन्, भने यसै गरि नेपालको पैसा बाहिर जाने छ’ उनले भने ।

मौद्रिक नीति आउन लागेको र अर्थतन्त्रसँग जोडिएका धेरै विषयलाई यसले सम्बोधन गर्ने उनले बताए ।

उनले गत प्रतिनिधि सभा निर्वाचनमा पार्टी भित्रैकाले सहयोग नगरेको अनुभव आफूसँग रहेको सुनाए ।

‘सबै एक ठाउँमा उभिएलान् सहयोग गर्लान् भन्नुको साटो कसरी यसलाई सिध्याउने भन्ने मेरो अनुभूति रह्यो,’ चौधरीले भने, ‘बिरोधीलाई कसरी जिताउने भन्ने प्रत्यक्ष प्रमाणहरु सार्वजनिक छन् । पार्टीको पद्दतीलाई आन्तरिक विवादका बाबजुद आकांक्षा पूरा नहुँदा एउटै सुत्र बाध्न नसक्ने हो भने समस्या हुन्छ ।’

उनले यस्ता मानसिकता बोकेका मानिसलाई पार्टीले बन्छाउनु पर्ने बताए ।


क्लिकमान्डु