सार्वजनिक यातायातमा ड्रेस र परिचयपत्रको सुरुवात, मन्त्री भन्छन्-स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स)समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।

यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको मन्त्री ज्वालाले बताए ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि बेवास्ता गर्नु नहुने उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उनको भनाइ थियो ।

सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात हुनु महत्वपूर्ण रहेको मन्त्री ज्वालाको भनाइ छ । चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने उनले बताए । यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको उनको भनाइ छ ।

मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु