भन्सारको सीसीटीभी फुटेज र एक्सरे इमेज राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लियो



काठमाडौं। रेडी ट्रेडर्सले ब्रेक सु भन्दै सुन तस्करी गरेका दिनको सीसीटीभी फुटेज र एक्सरे इमेज राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थीत भन्सार कार्गो गोदाममा जडान गरिएका सीसीटीभी फुटेज राजस्व अनुसन्धान विभागले लगेर गएको भन्सार कार्यालय एक कर्मचारीले जानकारी दिए।

ती कर्मचारीका अनुसार राजस्व अनुसन्धान विभागले रेडी ट्रेडर्सले ल्याएका सामान एक्सरे गर्दा खिचिएको तस्बिर समेत नियन्त्रणमा लिएको छ।

एक्सरे इमेज हेर्दा ब्रेक सु भन्दा पनि फरक इमेज देखिएको छ,’ विभागका एक कर्मचारीले भने, ‘भन्सारमा मिलेमतोमा शंकास्पद सामान छोडिएको हो वा अन्जानमा गल्ती भएको अनुसन्धानबाट खुल्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको एक्सरे चेक जाँच गर्ने एक कर्मचारीले ब्रेक सु भन्दै ल्याइएका पाँचवटा कार्टुनमा आसी (रि चेक) लेखेको एक अधिकारी बताउँछन् ।

कार्टुनमा रि चेक लेखिएको भए पनि त्यसको पुन: जाँच भने नगरिएको सीसीटिभी फुटेजमा देखिएको श्रोतले जानकारी दिएको छ ।

‘रि चेक मिलेमतोमा नगरिएको हो वा कर्मचारीले अन्जानबस नगरेका हुन् प्रष्ट भइसकेको छैन’, त्रिवि भन्सार कार्यालयका एक उपसचिवले भने, ‘सीसीटीभीबाट हेर्दा भन्सार अधिकृतले गल्ती गरेजस्तो त देखिँदैन, यद्दपी आरसी लखेको कार्टुन खोलेर नहेर्नु त्रुटी नै हो ।’

एक्सरेका कर्मचारीले कार्टुनमा आरसी लेख्दासमेत भन्सार अधिकृतहरुले कार्टुन खोलेर नहेरी जाँच पास गरेका थिए । उक्त कार्टुन मंगलबार दिउँसो ट्याक्सीमा राखेर बाहिर निकालिएको थियो । पछि राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको हो ।

राजस्व अनुसन्धान विभागले १६० ब्रेकसुमा सुन लुकाएर ल्याएको अवस्थामा ट्याक्सीसहित नियन्त्रणमा लिएका थियो । उक्त सुन प्रकरणमा हालसम्म १० जना पक्राउ परेका छन् ।

त्यसमध्ये छ जनालाई हिजो उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । हिजो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिएको छ । पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको १ क्विन्टल बढी सुन बरामद गरेको थियो।

विभागले शुक्रवार भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको सीसीटीभी फुटेज र एक्सरे इमेजका आधारमा थप अनुसन्धान गर्ने जनाएको छ ।


शरद ओझा