नियन्त्रणमा लिएको सवारी तथा सामान लिलाम गर्दै राजस्व अनुसन्धान विभाग



काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका दुई सवारी साधन तथा मोबाइल, कपडा, मललगायतका विभिन्न सामग्री लिलाम गर्न लागेको छ ।

विभागले शुक्रबार एक सूचना निकाल्दै यी सवारी साधन तथा सामग्रीहरुको लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो । विभागका सवारीको लिलामीसम्बन्धि बोलपत्रमा १५ दिनभित्र बोलपत्रमा आवेदन दिन सकिनेछ भने अन्य वस्तुहरुको लिलामी ७ दिनभित्र हुने विभागले जाएको छ ।

विभागकाअनुसार लिलाम हुने वस्तुमा दुई सवारी साधन रहेका छन् । सन् २०१९ मा उत्पादन भएको जेनोन योद्दा मोडेलको पिकअप भ्यानको लिलाम न्युनतम मुल्य ९ लाख ३१ हजार ५ सय तोकिएको छ भने अर्को सन् २०२१ मा बनेको ‘एलपिटि १५१२÷४२ सिआरएक्स’ मोडलको ट्रकको लिलाम न्युनतम मूल्य १५ लाख २३ हजार ८८ रुपैयाँ तोकिएको छ ।

यी सवारीहरु लिलामीमा खरिद गर्न चाहनेले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

त्यस्तै, विभागले ७ दिने सूचना निकाल्दै अन्य वस्तुहरुको पनि लिलामी गर्न लागेको छ । ७२ जोर मिडियम इभा चप्पल, ६० जोर लेडिज इभा चप्पल र ७२ जोर लार्ज इभा चप्पल न्युनतम लिलामी मूल्य १ लाख १३ हजार ९८ रुपैयाँ, आईफोन १४ प्रो म्क्याक्स र आईफोन १४ गरि ११ थान मोबाइल १४ लाख ७३ हजार ७६४ रुपैयाँ, युरिया मल २८० बोरा ३ लाख ७८ हजार रुपैयाँमा तथा अन्य वस्तुहरु लिलाम गर्न लागिएको विभागले जनाएको छ ।


क्लिकमान्डु