विमानस्थलमा बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । मंगलबार दिउँसो बरामद भएको सुन १०० किलोको हाराहारीमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसको यकिन गर्नका लागि राजश्व अनुसन्धान विभागले सुन जोख्न राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । सुन हङकङबाट नेपाल भित्र्याइएको थियो ।

भन्सार विभागले सुन तस्कारीमा संलग्न भएको आरोपमा दुई जना कर्मचारीलाई निलम्बन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाललाई निलम्बन गरिएको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए ।

भन्सार प्रणालीमा चेक जाँच गर्दा सुन पहिचान नहुनु शंकास्पद भएपछि कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागले ब्रेक सु मा सुन लुकाएर जाँचपास हुँदा भएका काम कारबाहीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।

विभागले सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार विभागको अनुसन्धान तथा अनुपालन शाखा प्रमुख मान बहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । पौडेलको नेतृत्वमा गठन भएको समितिलाई भन्सार कार्यलयका सीसीटीभी फुटेज र अन्य विषय अध्ययन गर्दै तस्कारीमा मिलोमतो गरेका भन्सार कार्यालयका कर्मचारीको पहिचान गर्ने जिम्मेवारी दिईएको छ ।

विभागका सूचना अधिकारी खड्काले समितिलाई भन्सार विन्दुबाट त्यती ठूलो परिणाममा सून कसरी बाहिरियो भन्ने विषयमा अध्ययन गर्दै प्रतिवेदन बुझाउने जिम्मेवारी दिईएको जानकारी दिए ।


क्लिकमान्डु