पर्यटक बढ्दा होटल सरोवरले एकै वर्ष गर्यो ५ करोड आम्दानी
काठमाडौं । कोभिडपछि पर्यटकको आगमन बढ्दा होटल सरोवर प्रालिले एक वर्षमा करिब ५ करोड आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीले सन् २०२१ मा १ करोड ४२ लाख रुपैयाँ सन् २०२० मा ४ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको चार तारे होटलमा ९६ वटा कोठाको सुविधा छ । पर्यटकीय नगरी पोखरा लेकसाइडमा रहेको सन् २०१९ बाट सञ्चालनमा आएको थियो ।
कम्पनीले ‘स्विस इन्टरनेसनल होटल सरोवर’ ब्रान्डमा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले स्विस इन्टरनेसनल होटल सर्भिस एजीसँग सहकार्य गरेर नेपालमा प्रोन्चाइज भित्र्याएको हो ।
भरतराज पहारी र मोहनप्रसाद पहारीको स्वामित्व रहेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६६ करोड ९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६४ करोड ९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ ।
होटल सञ्चालनमा आएको केही समयमै कोरोना महामारीका कारण होटलको आम्दानीमा असर पुगेको थियो । तर, सन् २०२२ मा पर्यटक बढ्दा आम्दानी पनि बढेको छ ।