इप्पानले गठन गर्यो ज्ञानेन्द्रलाल प्रधानसहितको १४ सदस्यीय विज्ञ सल्लाहकार समिति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।
इप्पानको विधानमा आवश्यकताअनुसार विभिन्न समिति गठन गर्न सक्ने व्यवस्थाअनुसार विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको हो ।
ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञलगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरिएको छ । पूर्व अर्थमन्त्री एवं जलस्रोत सचिव डा. शंकर कोइराला, इप्पानका पूर्वअध्यक्षहरु डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, जलविद्युत् उद्यमी डा. आत्माराम घिमिरे, जलविद्युत् विज्ञ डा. कृष्णप्रसाद दुलाल, ई. ज्ञानेन्द्रलाल प्रधान र पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठलाई समितिमा मनोनयन गरिएको छ ।
त्यस्तै भूराजनीतिक विश्लेषक एवं जलविद्युत् उद्यमी अरुणकुमार सुवेदी, पूर्वजलस्रोत राज्यमन्त्री एवं उद्यमी हरिप्रसाद पाण्डे, उद्यमी मोतिलाल दुगड, पूर्वऊर्जासचिव सुमन शर्मा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु प्रदिपकुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत अभियन्ता कृष्णप्रसाद भण्डारीलाई समितिमा मनोनयन गरिएको इप्पानले जानकारी गराएको छ ।
इप्पान विधानमा भएको व्यवस्थाबमोजिम यसअघि २१ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
असार १ गते बसेको कार्यसमितिको १७१औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्नेसम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो । सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकारमा उनीहरुलाई मनोनयन गरेका हुन् । कार्यमसितिले विज्ञ सल्लाहकारबाट आवश्यक परामर्श लिन सक्नेछ ।