युक्रेन संकट समाधानका निम्ति सार्थक वार्ता गर्न भारतको जोड



एजेन्सी । भारतले युक्रेन संकट समाधानका निम्ति सार्थक वार्तामा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता र कूटनीतिमा जोड दिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्रसंघको वार्षिक साधारणसभामा भएको युक्रेन बहसमा जारी द्वन्द्वप्रति भारतको गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्न वार्ता र कूटनीतिमा फर्कन आग्रह गरे ।

उनले अहिलेको युग युद्धको युग नभई वार्ता र कूटनीतिको युग भएकाले त्यसकै माध्यमबाट संकटको निकास खोजिनुपर्नेमा जोड दिए ।

द्वन्द्वका कारण विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरुको ज्यान गएको, दुवै देशका जनता पीडामा परेका उल्लेख गर्दै उनले युक्रेनको अवस्थालाई लिएर भारत चिन्तित भएको बताए ।

उनले लाखौं घरबारविहीन भएका, तीमध्ये अधिकांश छिमेकी देशहरूमा शरण लिन बाध्य भएका, पूर्वाधारमा भएका आक्रमणले परिस्थितिलाई अझ जटिल एवं चिन्ताजनक बनाएको पनि विचार राखे । उनले रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न हालैका घटनाक्रमप्रति भारत चिन्तित भएको बताउँदै शान्ति र स्थायित्वका निम्ति दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरे ।

‘हामीले शत्रुताको तत्काल अन्त्य, वार्ता र कूटनीतिको मार्गमा तत्काल फर्कनका निम्ति सबै प्रयास गर्न आग्रह गरेका छौं । हामी सबैले सदस्यता लिने विश्वव्यापी व्यवस्था अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र क्षेत्रीय अखण्डताको सम्मानमा आधारित भएकाले सबै राज्यको सार्वभौमसत्ताको सम्मान हुनुपर्नेमा भारत दृढ छ,’ उनले भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रुसका शीर्ष नेतालाई ‘यो युद्धको युग होइन’ भन्ने कुरामा जोड दिनुभएको दोहोर्‍याउँदै स्थायी प्रतिनिधि कम्बोजले मानव जीवनको मूल्यमा कुनै पनि हालतमा समाधान हुन नसक्ने विषयमा निरन्तर आवाज उठाएको तथा बढ्दो हिंसाले कसैको हित नहुने भएकाले मतभेद र विवाद समाधानको एक मात्र उपाय कूटनीति र वार्ता नै भएको बताए । शान्ति स्थापनाका निम्ति कूटनीतिका सबै माध्यम खुला राख्न आवश्यक भएको उनको भनाइ छ ।


क्लिकमान्डु