कांग्रेस बैठकमा प्रदेश सभापतिहरुको गुनासो



काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका छन् ।

बुधबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका हुन् । यस विषयमा पुनःविचार गर्नुपर्ने उनले बताए । त्यस्तै उनले प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गरे ।

‘मधेस भनेको नेपाली काँग्रेसको जननी हो । मधेसबाट नेपाली काँग्रेसको जन्म भएको छ । र मधेस बलियो जब जब भएको छ, तब तब नेपाली काँग्रेस सत्तामा गएको छ । यो हामीले बिर्सनुपर्ने कुरा होइन । यो प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीबिहिन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ ।’ उनले भने ।

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको उनको आरोप थियो ।

बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए । सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा उनले जोड दिए । नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले नेपाली काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।


क्लिकमान्डु