१२ अर्ब लगानीमा माथिल्लो तमोर ‘ए’ हाइड्रोपावर बन्दै, प्रतिमेगावाट लागत २२ करोड २१ लाख



काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा १२ अर्ब लगानीमा माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना बन्ने भएको छ ।

वातावरण विभागमा पेस गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार ६० मेगावाट क्षमताको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना बन्ने भएको हो ।

युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गर्न प्रस्ताव गरेको आयोजना तमोर खोलामा आधारित जलविद्युत आयोजना हो

नदी प्रवाहमा आधारित रहने आयोजनाको जडित क्षमता ६० मेगावाट र औसतमा वार्षिक उत्पादन हुने विद्युतीय उर्जा ३३३.८२२ गिगावाट घण्टा रहने प्रतिवेदनमा उल्लेख छ ।

कुल लागत १२ अर्ब ८५ करोड ९० लाख लाग्ने बताइएको छ । प्रतिमेगावाट जलविद्युत उत्पादनका लागि २२ करोड २१ लाख १५ हजार ८१६ रुपैयाँ लागत आयोजनामा पर्नेछ ।

३० वर्षको आर्थिक अवधि राखिएको आयोजनाको निर्माण सुरु भएको समयबाट तीन वर्षमा सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजना निर्माणका लागि १८५५ वटा रुख काटिने पनि विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई १३२ किलोभोल्टको सिंगल सक्रिट प्रसारण लाइनको प्रयोग गरि १५ किलोमिटर टाढा रहेको ढुङ्गेसाँगु सबस्टेसनमा जोडिने छ ।


क्लिकमान्डु