सुन पसलमा बम भन्दै मोबाइलमा तार जोडेको फेला, एक जना पक्राउ



काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुन पसलको अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

बुधबार विहान फेला परेको सो शंकास्पद वस्तु बम नभएको पाइएको सेनाले जनाएको छ ।

कालो टेपले बेरेको र दुईवटा तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।

तर डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नभएको पुष्टि गरेको छ । नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको नेपाली सेनाले जनाएको छ ।

सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट शंकास्पद बस्तु राखेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो । ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल’ पर्चामा लेखिएको छ ।


क्लिकमान्डु