मौलाकाली केवलकारको इभिनिङ अफर, आधा सस्तो टिकट
नवलपुर । मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ अफर ल्याएको छ । साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने स्टेसन म्यानेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ छ । अफरअन्तर्गत अब यात्रुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन् ।
यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केवलकारमा यात्रा गर्ने अवसर मिल्नेछ साथै दर्शनार्थीलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्नेछ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ ।
‘दिउँसो गर्मीको समयमा दर्शनार्थी मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौं,’ केवलकारका स्टेसन म्यानेजर पौडेलले भने ।
मौलाकालिका मन्दिरमा यसअघिका वर्षको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करिब २५ प्रतिशतले बढेको छ ।
गर्मी, वर्षात, खेतीपातीलगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी वैशाख १ देखि सञ्चालनमा आएको मौलाकाली केवलकारले बिदाका दिनबाहेक बिहान ६ बजेदेखि भक्तजनलाई सेवा दिँदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान ५:३० देखि केवलकार सञ्चालन हुने गरेको छ ।