‘स्वीस पर्यटन अवार्ड’ मा काठमाडौं महानगरपालिका छनोट, बालेनलाई निम्तो
काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘स्वीस पर्यटन अवार्ड’का लागि छनोट गरिएको छ । सन २०२३ को संस्करणका लागि आगामी नोमेम्बर ३ देखि ५ गतेसम्म हुने कार्यक्रममा महानगरलाई छनोट गरिएको हो ।
महानगरका मेयर बालेन्द्र शाहलाई अवार्ड कमिटिद्वारा लेखिएको पत्रमा ‘स्वीस पर्यटन अवार्ड, २०२३’का लागि काठमाडौं महानगरलाई छनोट गरिएको जनाउँदै कार्यक्रम हुने समयमा उपस्थितिका लागि पनि निमन्त्रणा गरिएको छ ।
अवार्ड समितिले काठमाडौंको सांस्कृतिक इतिहास, धार्मिक सम्पदा र जीवन्त शहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने उल्लेख गरेको छ । पत्रमा भनिएको छ, ‘काठमाडौंको सुन्दरता यसको समृद्ध सांस्कृतिक इतिहास, यसको धार्मिक सम्पदा र यसको जीवन्त शहरी वातावरणमा निहित छ, जसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ’नोमेम्बरमा हुने अवार्ड कार्यक्रमका लागि समितिले महानगरका मेयरलाई निमन्त्रणासहित पत्र पठाएको छ । कार्यक्रम स्वीजरल्याण्डको लुगानो शहरमा हुनेछ ।
स्वीस पर्यटन अवार्ड विगत १५ वर्षदेखि भइरहेको अवार्ड हो । यो अवार्डका लागि विभिन्न स्थानीय तह, नगरपालिका वा महानगरपालिकाले आवेदन दिन सक्छन् । तत्पश्चात भने परेका आवेदनहरुबाट छनोट गरेर निश्चित संख्यामा शहर वा नगरपालिकालाई नोमिनेसन गर्ने गरिन्छ ।