सुनचाँदी व्यवसायी संघको सीपमूलक तालिममा उपप्रमुख डंगोलले भनिन्- हामीसँग सहकार्य गर्नुस्



काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सुनचाँदीका गहनामा पोते, क्रिस्टल, मोतीमालालगायत उन्ने तालिम प्रदान गरेको छ । संघले सुनचाँदीका मंगलसुत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहार आदि गरगहनामा पोते, क्रिस्टल, मोतीमालालगायत उन्ने तालिम सञ्चालन गरेको हो ।

असार २२ गते सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आरम्भ गरेको तालिमको असार ३१ गते काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले समापन गरेकी छन् । तालिम समापन कार्यक्रममा उनले गरगहनामा पोते, क्रिस्टल, मोतीमाला उन्ने सीपका साथै आयआर्जनको अवसरका लागि प्रशिक्षण सुरु गरिनु राम्रो काम भएको बताइन् ।

‘संघले एक्लै धेरै गर्न सक्दैन, महानगरसँग सहकार्य गरेर कार्यक्रम गर्नुस्,’ उनले भनिन्, ‘आयआर्जन, सीप तथा रोजगारीमूलक कार्यक्रममा सहयोग गर्नु महानगरको पनि दायित्व हो, यस्ता सबैखाले कार्यक्रममा हामी सहयोग गर्छौं ।’

कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले संस्थाले बर्सेनि सदस्यहरुको हकहित, सेवा सुविधा र उपभोक्ताको समेत हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले आगामी दिनमा महानगरसँग सहकार्य गरेर धेरै मानिसले लाभ लिनसक्ने गरी तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

तालिम कार्यक्रमका संयोजक लेखरत्न शाक्यले सीपमूलक तालिम प्रदान गर्ने कार्यले निरन्तरता पाउने बताए । संघले नि:शुल्क प्रदान गरेको १० दिने तालिम कार्यक्रममा १३ जना महिला र १ पुरुष सहभागी थिए ।


क्लिकमान्डु