कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना, खानेलाई ५ हजार



सुर्तीजन्य पदार्थ निषेधपछि आयोजित सचेतनामूलक कार्यक्रम ।

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ देखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ,’ उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।’

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उनको भनाइ छ । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगर प्रमुख पोखरेलको भनाइ छ ।

‘बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ,’ उनले भने, ‘यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।’

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रयोगकर्ताको हकमा भने अधिकतम ५ हजार जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् ।


क्लिकमान्डु