नबिल बैंकले बढायो ब्याजदर, अब कति पाइन्छ ?
काठमाडौं । नबिल बैंकले साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार दुई वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ ।
त्यस्तै, ६ महिनादेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.४९ प्रतिशत र क्युमुलेटिभ फिक्स्ड डिपोजिटमा ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यसअघि सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।
त्यस्तै, नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा ११.४९ प्रतिशत ब्याज दिने जनाएको छ ।
बचत निक्षेपतर्फ बैंकले नबिल प्रिमियम रेमिट्यान्स बचत खातामा सबैभन्दा बढि अर्थात ८.९० प्रतिशत ब्याज दिने जनाएको छ ।
त्यस्तै, नबिल गोल्ड बचत खाता, कर्पोरेट बचत खाता, नबिल गोल्ड पेरोल बचत खाता, नबिल ढुक्क बचत खातामा ७.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
यससँगै नबिल सेयरहोल्डर्स बचतखाता र नबिल प्रिमियम पेरोल बचतखातामा ६.४० प्रतिशत ब्याज र कर्पोरेट प्रिमियम बचतखातामा ६.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
अरु सबै प्रकारका बचत खातामा ५.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
कर्जातर्फ आधारदरमा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ ।
यसअघि बैंकर्स संघले भद्र सहमतीमार्फत ब्याजदर निर्धारण गर्दै आएको थियो । साउन १ गतेदेखि त्यो निर्णय खारेज भएसँगै बैंकले आफैं ब्याजदर कायम गर्न थालेका हुन् ।