संकटाको स्वेतपत्र: २६ सय बचतकर्ताको पैसा घरजग्गामा, फिर्ता गर्ने के छ योजना ?
काठमाडौं । संकटा बचत तथा ऋण सहकारी संस्थाले २०८० जेठ मसान्तसम्मको स्वेत पत्र जारी गरेको छ । संस्थाले जारी गरेको स्वेतपत्रअनुसार संस्थाले विभिन्न स्थानमा घरजग्गामा लगानी गरेको पाइएको छ ।
कतिपय घर तथा जग्गा संस्थाबाट ऋण लिने ऋणीले कर्जा नतिरेपछि घरजग्गा लिलामी गरेको संस्थाका प्रबन्धक बिन्देश्वर श्रेष्ठले बताए ।
संस्थाले करिब २०० सदस्यलाई ऋण लगानी गरेको जनाएको छ । संस्थाको धुलिखेल, काभ्रेको खावा, महाराजगन्ज, सीतापाइला, झापा, ताहाचल, चाल्नाखेल, दक्षिणकालीनजिकै रहेको बाँसबारी, न्युरोडलगायतका ठाउँमा घर जग्गामा लगानी रहेको संस्थाले जनाएको छ । ती घरजग्गामध्ये केही धितोबाट सकारेको श्रेष्ठले जानकारी गराए ।
श्रेष्ठका अनुसार काभ्रेको खावामा १८ रोपनी १० आना, धुलिखेलमा १० आना र महाराजगन्जमा २ करोड ७५ लाखमा लिलामीमा १२ वर्षअघि घर सकारेको जनाएको छ । अहिले त्यसको मूल्य ५ करोड रुपैयाँ पर्ने सहकारीले जनाएको छ ।
यस्तै सीतापाइला १५ करोड रुपैयाँ पर्ने ५१ आना जग्गा, ताहाचलमा करिब ९ करोड रुपैयाँ पर्ने २० आना जग्गा, छाउनीमा ६ करोड ५० लाख रुपैयाँ पर्ने जग्गा धितोमा लगानी गरेको र लगानी नउठेकाे बताए । झापामा आफ्नै नाममा २५ करोडको जग्गा रहेको श्रेष्ठले बताए । उनका अनुसार झापाको उक्त जग्गामा प्लानिङ भइसकेको र सरकारले जग्गाको कित्ताकाट खोलेपछि बिक्री गर्ने उनको दाबी छ । त्याे जग्गा बेचेर बचतकर्ताको पैसा दिने उनको भनाइ छ ।
ताहाचलमा १ करोडको जग्गा, चाल्नाखेलमा १ करोड पर्ने जग्गा र काठमाडौंको न्युरोडमा करिब ६ अर्ब पर्ने महर्जन कम्प्लेक्स रहेको श्रेष्ठले बताए । उनका अनुसार सहकारीका सञ्चालकको नाममा २५-३० करोडको कर्जा रहेको र दक्षिणकाली जाने बाटोमा रहेको बाँसबारीमा २५ करोडको जग्गा संस्थाको नाममा रहेको जानकारी गराए ।
प्रबन्धक श्रेष्ठले साउनबाट बैंक ब्याज घट्ने, सरकारले कित्ताकाट खोल्न लागेकाले सबैको पैसा फिर्ता गर्न संस्था तयार रहेको बताए । ऋणीले ऋण नतिर्दा र सबैले एकैपटक बचत फिर्ता लिन आउन समस्या भएको उनको भनाइ छ । संस्थाको स्वामित्वमा रहेको संकटा उपभोक्ता सहकारी पसल बन्द भएको र केही समयमा खोल्ने बताए ।
सहकारीका अनुसार संस्थामा पुँजी, दायित्व, सम्पत्ति तथा जायजेथामा १ अर्ब ८० करोड ८ लाख ४६ हजार २६ रुपैयाँ छ । सहकारीका अनुसार सेयर संख्या २ हजार ६७६ रहेको छ । यसको रकम ४ करोड ४८ लाख ४४ हजार ५०० रुपैयाँ छ । सहकारीमा हाल १ अर्ब ५२ करोड ९२ लाख ९३ हजार ३१० रुपैयाँ छ ।
सहकारीले राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघबाट १७ करोड ८३ लाख ९९ हजार ९९९ रुपैयाँ छ भने संस्थाको दायित्व १ करोड ५६ लाख ६१ हजार ३४६ रुपैयाँ छ । हाल संस्थामा नगद भने २ लाख ७६ हजार ८८५ रुपैयाँ छ ।
सहकारीको लगानी घरजग्गामा मात्रै नभएर रेडियो उपत्यका, उपभोक्ता सहकारी संस्था, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ९५ लाख २७ हजार ४०० रुपैयाँ लगानी गरेको जनाएको छ । २०८० जेठ मसान्तसम्म संस्थाको नोक्सानी १६ करोड ७ लाख ५३ हजार ७२६ रुपैयाँ रहेको छ ।
उठाउन बाँकी ब्याज २५ करोड ४३ लाख ७९ हजार ६९८ रुपैयाँ रहेको छ । यो उठेको खण्डमा संस्था ९ करोड २६ लाख २५ हजार ९७२ रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब ५८ करोड ३ लाख ६६ हजार ९५ रुपैयाँ विभिन्न खाले कर्जा दिएको जनाएको छ ।
संस्थाले धितो लिएर र धितो नलिई कर्जा दिएको छ । संस्थाले धितो राखेर १ अर्ब ८ करोड ७१ लाख ८१ हजार ५२७ रुपैयाँ लगानी गरेको छ । जसबाट १५ करोड ३१ लाख २९ हजार ७०४ रुपैयाँ ब्याज उठ्नुपर्नेछ ।
संस्थाले धितो लिएर कर्जा दिएको भए पनि समयमा कर्जा असुली नभएको जनाएको छ । संस्थाको यस्तो ऋण ३९ करोड ६६ लाख ९३ हजार ८४८ रुपैयाँ रहेकामा उठ्नुपर्ने तर नउठेको ब्याज ६ करोड १४ लाख ४० हजार ७५५ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
संस्थाले धितो नै नराखी तथा व्यक्तिगत जमानीमा ४९ करोड ३१ लाख १५ हजार ३१ रुपैयाँ छ । यसबाट उठ्नुपर्ने ब्याज १० करोड १२ लाख २१ हजार ४१५ रुपैयाँ रहेको जनाएको छ । संस्थाले टेम्पु खरिद गर्न ५९ लाख ५६ हजार ४०५ रुपैयाँ लगानी गरेको छ ।
त्यसबाट उठ्नुपर्ने ब्याज ४९ लाख ९४ हजार ७५ रुपैयाँ रहेको संस्थाले जनाएको छ । टेम्पु खरिद गर्न लगानी गरेका ऋणीहरुसँग धितो नलिएको तर व्यक्तिगत जमानीमा कर्जा लगानी गरेको देखिएको छ । त्यस्ता ऋणीबाट ब्याज समेत समयमा नै नउठेको संस्थाले जनाएको छ । त्यो कर्जा उठाउन संस्थाले कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।
संस्थाले आफ्ना कर्मचारीलाई पनि बिनाधितो ऋण दिएको जनाएको छ । त्यस्तो ऋण १४ लाख ७३ हजार १४५ रुपैयाँ छ । कर्मचारीलाई दिएको कर्जाबाट ६ लाख ११ हजार १७७ रुपैयाँ ब्याज उठ्न बाँकी रहेको छ ।
संस्थाले बिना धितो १६ करोड ३३ हजार ७ हजार २९ रुपैयाँ लगानी गरेको त्यसमा व्यक्तिगत जमानी रहेको भन्दै ऋणी तथा जमानीकर्ताको जायजेथा रोक्का गरी सम्पत्ति बिक्री गरेर असुल गर्ने जनाएको छ । यसबाट उठ्नुपर्ने ब्याज ३ करोड ५१ लाख १४ हजार ६९८ रुपैयाँ छ । सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न ५ वटा योजना बनाएको छ ।