सुर्तिजन्य पदार्थको कर ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छः सांसद दाहाल



काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै दाहालले सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए ।

सरकारले स्वास्थ्य जोखिम कर वापत् उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने उनको भनाइ छ ।

‘सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करबाट प्राप्त रकमको ८० प्रतिशत क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गरिनुपर्छ भनेर सुझाव राखेका छौँ । सुर्तिजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहीँ थोरै मात्रामा मात्रै अस्पतालहरुमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ’ उनले भने ।

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ ।


क्लिकमान्डु