लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीय



बुटवल । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ देखि व्यावसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।

एक महिनाको अवधिमा २८ हजार ६७९ जनाले केबलकार चढेको र यसबाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरुसमेत गर्दा करिब ३० हजार जना पुगेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना छन् ।

केबलकारले बुटवलको वडा नं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत र सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक, अपांगता भएकालाई पनि टिकटमा छुट दिइएको छ ।

टप स्टेसनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दीसहितका धार्मिक स्थल र घुमफिरका लागि पर्याप्त ठाउँ र संरचना रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटक आएको प्रालिले जनाएको छ ।

२.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसन समुद्री सतहबाट करिब ३ हजार फिट उचाइमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।

टप स्टेसनमा १ अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, १ हजार जना क्षमताको बैंक्वेट हल र स्विमिङ पुलसहितको पाँचतारे होटल बन्ने प्रक्रियामा रहेको  लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाइ लम्ब्याउन योगदान पुग्ने उनको भनाइ छ ।

लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपूर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन् ।

केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले १–१ प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।

नेपालमा सञ्चालनमा रहेका ६ वटामध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैयाँ र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुईवटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दीर्घकालीन रुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।


क्लिकमान्डु