रासायनिक मल कारखानाका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी



काठमाडौं । रासायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ ।

नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच बिहीबार समझदारी भएको हो ।

समझदारीअनुसार डीआईएजीले अनुमति प्राप्त गरेको २४ महिनाभित्र बृहत् सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ ।

कम्पनीले प्राकृतिक ग्याँस अथवा हाइब्रिडमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१ करोड ४० लाख अमेरिकी डलर (९३ अर्ब ५३ करोड ४० लाख रुपैयाँ) प्रारम्भिक लागत अनुमान गरेको छ ।

साथै आगामी आर्थिक वर्षको बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ ।

सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली २०७७ को व्यवस्थाअनुसार डीआईएजी इन्डस्ट्रिज जीएमबीएचको प्रस्तावका आधारमा बोर्डको चैत १७ गतेको बैठकले अध्ययन अनुमति प्रदान गरेको थियो ।

समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डीआईएजी इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् ।

नेपालमा रासायनिक मल नहुँदा भारतलगायतका देशबाट चालू आर्थिक वर्षको ११ महिनामै ३६ अर्ब रुपैयाँको मल आयात भइसकेको छ । तर पनि किसानले समयमा मल पाउन सकेका छैनन् ।


क्लिकमान्डु