नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
काठमाडौं । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्याङबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तुलाधरलाई ठगी तथा संगठित अपराधसमेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।