वैकल्पिक ऊर्जाले जलविद्युतलाई फेज आउट गर्न सक्छ, स्रोत खेर नफालौं: रवि लामिछाने
‘ऊर्जा क्षेत्रमा समय सापेक्ष नीति नहुँदा खोलासँगै स्रोत पनि बगेर गयो । रास्वपा र इप्पानका केही पदाधिकारी रहने एउटा समिति बनाएर ऊर्जा क्षेत्रका चुनौतीविरुद्ध लडौं ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ऊर्जा क्षेत्रमा समय सापेक्ष नीति नहुँदा खोलासँगै स्रोत पनि बगेर गएको बताएका छन् ।
रास्वपाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)सँग गरेको ‘नेपालको ऊर्जा क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तर्क्रियामा सभापति लामिछानेले नीति निर्माण तहमा बसेकाहरुले समृद्धिको यात्रामा साथ दिने विभिन्न संघसंस्था र व्यक्तिसँग निरन्तर छलफल गर्ने उद्देश्यअनुसार ऊर्जा क्षेत्रसँग अन्तर्क्रिया गरिएको बताए ।
सिद्धान्तको लडाइँलाई थाती राखेर आवश्यकताको लडाइँ लड्ने भन्दै आफूले चल्तीको राजनीतिभन्दा फरक गर्न चाहेको पनि उनले बताए ।
‘ऊर्जा क्षेत्रमा हामी समय सापेक्ष हुन नसकेकाले हाम्रो स्रोतलाई खोलामा बगाइरहेका छौँ । अक स्रोत खेर फाल्ने छुट हामीलाई छैन,’ लामिछानेले भने, ‘अब पनि स्रोतको सदुपयोग गरिएन भने वैकल्पिक ऊर्जाले जलविद्युतलाई फेजआउट गर्नेछ ।’
ऊर्जा उद्यमीहरू राजनीतिक दलसामु पुग्नुपर्ने बाध्यताको सिकार भइरहेको भन्दै उनले कुनै पनि उद्यमी व्यवसायी राजनीतिक दलका नेतासामु पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरुले सबै कुरा नीति नियममा स्पष्ट पार्न चाहेको बताए ।
एकद्वार नीति नभएकाले अहिले ऊर्जा उद्यमीहरु धेरै सरकारी निकाय धाउनुपरिरहेको भन्दै आफू एकद्वार नीतिको पक्षमा रहेको पनि उनले स्पष्ट पारे ।
‘हामी वान डोर पोलिसीको पक्षमा छौं । हाम्रो विद्युत उत्पादनको जुन क्षमता छ, त्यसलाई उपयोग गर्न सहज हुने नीति बनाउन पहल गर्नेछौँ,’ उनले अगाडि भने, ‘तपाईंहरुको जीवनकालमा रास्वपाका मान्छे चन्दा माग्न आए, घेराबन्दी गर्न आए भन्ने कुरा सुन्न पाउनुहुन्न ।’
ऊर्जा उद्यमीहरु आफैँ समस्यामा रहेको भन्दै उनले ऊर्जा उद्यमीहरुका जायज माग तपाईंले जसरी प्रस्तुत गर्नुहुन्छ, त्यसैगरी त्यही लेभलमा रास्वपाले संसदमा उठाउने प्रतिबद्धता जनाए ।
जग्गा प्राप्ति, सरकारी र निजी जग्गाको मुआब्जा, वन र पर्यावरणका मुद्दा, स्थानीयको अवरोधलगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले भने, ‘यी कुरा तपाईंले भन्ने शैलीमै हामी सम्बन्धित ठाउँमा उठाउने वाचा गर्छौं ।’ रास्वपा र इप्पानका केही पदाधिकारी रहने एउटा समिति बनाएर ऊर्जा क्षेत्रका चुनौतीविरुद्ध लड्ने पनि लामिछानेले बताए ।
कार्यक्रममा ‘नेपालको ऊर्जा क्षेत्रको अवस्था र चुनौतीहरू’ विषयमा प्रस्तुतीकरण दिँदै इप्पानका उपमहासचिव प्रकाश दुलालले नेपालको ऊर्जा उत्पादन क्षमता २ लाख मेगावाटभन्दा बढी रहेको बताए । उनको प्रस्तुतीकरणमा जल तथा ऊर्जा आयोगले हालैमात्र गरेको एक अध्ययनअनुसार रन अफ द रिभर आयोजना ७२ हजार ५४४ मेगावाट र जलाशययुक्त ४८ हजार १५० मेगावाट जलविद्युतको उत्पादन सम्भावना र विश्व बैंकले गरेको एक अध्ययनअनुसार सौर्य ऊर्जाको उत्पादन क्षमता २९ हजार ४११ मेगावाट देखिएको छ ।
कार्यक्रममा रास्वपाका सांसद एवं केन्द्रीय सदस्यहरूले उठएका जिज्ञासाको सम्बोधन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले नाफा हेर्ने भए पनि ऊर्जा भनेको व्यापार मात्र नभएर देशको समृद्धि पनि भएको भएको बताए । उनले उदाहरण दिँदै भने, ‘हामीले एउटा आयोजना बनाउँदा हजारौं किलोमिटर सडक बनाएका र उक्त सडक सर्वसाधारणले नै प्रयोग गरिरहेका छन् ।’
सरकारी जग्गा प्राप्ति र वन कटान समस्याकै आयोजना निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ । प्रसारणलाइन समयमा नबन्ने, जलविद्युतको लागत बढ्ने र लगानीकर्ताले समयमै नाफा नपाउने कुरा सिधै वनसँग जोडिएको कार्कीको भनाइ छ । सरकारले जलविद्युतमैत्री नीति बनाइदिए अहिलेको भन्दा सस्तो र छोटो समयमा आयोजना सम्पन्न गर्न सकिने उनले स्पष्ट पारे ।