संवेदनशील भएर प्रस्तुत हुन नगरप्रहरी प्रमुख पाण्डेको निर्देशन
काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरीलाई नगरभित्रका कुराहरुमा संवेदनशील रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डले बुधबार बिहान महानगर प्रहरीका सबैलाई भेला पारेर प्रदशर्नीमार्गस्थित राष्ट्रिय सभागृहको प्रांगणमा ब्रिफिङ गरेका छन् ।
नागरिकसामुन्ने प्रस्तुत हुँदा नागरिक मैत्री भएर संवेदनशिल रुपमा प्रस्तुत हुनुपर्नेलगायतका विषयमा उनले ब्रिफिङ गराएका छन् ।
‘हाम्रो कार्यसम्पादन गर्ने कुरा नागरिकहरुले हेरिरहनु भएको छ,’ पाण्डेले ब्रिफिङ गराउँदै भनेका छन्, ‘हाम्रो हरेक हर्कत हेर्नु भएको छ । नगर प्रहरीले के गरिरहेको छ भनेर हेर्नु भएको छ । कुनै पनि कारबाही गर्दा पहिले योजना बनाउनुस अनि मात्रै काम गर्नुस । यहाँबाट कुने किसिमका काममा जाँदा यत्तिकै जाने होइन । पहिले ब्रिफिङ गरेर योजना बनाएर काम गर्नुपर्यो ।’
उनले आफूहरुको कार्यशैलीअन्तर्गत सडकमा ठेलामार्फत व्यापार गर्नेहरुको हकमा महानगरको शून्य सहनशिलता नै भएको बताएका छन् ।
कुनै हालतमा पनि सडकमा ठेलामा व्यापार गर्न नदिने भएता पनि नगर प्रहरीले काम गर्दा कसैलाई समाउँदा अमानवीय रुपमा नगर्न निर्देशन दिएका छन् ।
उनले भने, ‘सिन क्रिएट हुने गरि सामान छर्ने गर्न हुन्न । कोही भागेमा भोली समाउन सकिन्छ । भागेमा पनि खेदाएर गएर गर्ने होइन ।’
उनले नगर प्रहरीले ठेलागाडामा व्यापार गर्नेहरुलाई कहिलेकाँही सम्झाएर पठाउन पनि सकिने बताए ।
नगर प्रहरी पछिल्लो समय अमानवीय रुपमा ठेलाव्यापार गर्नेहरुमाथि प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ । बुधबार महानगरको बागदरबारस्थित कार्यालयअगाडि केही स्वतन्त्र युवाहरुले यही विषयलाई लिएर आन्दोलन गरेका थिए ।