उडेको ८ मिनेटमै सम्पर्कविहीन भएको थियो हेलिकप्टर
काठमाडौं । मनाङ एयरको हेलिकप्टर उडान भरेको ८ मिनेटमै सम्पर्कविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रताप तिवारीका अनुसार मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
तिवारीले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको जानकारी दिए । हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।
लाम्जुरा पास लिखुपिके गाउँपालिका-५ मा पर्छ । उक्त क्षेत्रमा बस्ती नरहेको र होटलहरु रहेको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् ।
हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको हो ।
हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए । जसमा ५ जना विदेशी यात्रु छन् ।