खराब कर्जा बढ्ने भएपछि ‘एग्रेसिभ रिकोभरी’मा सहकारी बैंक



काठमाडौं । खराब कर्जा बढ्ने भएपछि सहकारी बैंक ‘एग्रेसिभ रिकोभरी’मा लागेको छ । समयमा कर्जा नउठेपछि हैरान भएको बैंकले धमाधम कर्जा चुक्ता गर्न आउन सहकारीहरुलाई सूचना जारी गर्न थालेको हो ।

बैंकले अहिले धेरै सहकारीलाई कर्जा चुक्ता गर्नेबारे ३५ दिने सूचना निकालिरहेको छ । शुक्रपथ बहुद्देश्यीय सहकारी संस्था, अग्नि बचत तथा ऋण सहकारी संस्था, एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थालगायतलाई कर्जा समयमा तिर्न भन्दै बैंकले सूचना निकालेको हो ।

बैंकले काठमाडौं न्युरोडको शुक्रपथ बहुद्देश्यीय सहकारी संस्थाको नाममा कर्जा तिर्न भन्दै ३५ दिने सूचना निकालेको छ । सहकारीले न्युरोड शाखाबाट उपभोग गरेको कर्जाको साँवा व्याज र हर्जना रकम तिर्न बुझाउनुपर्नेमा हालसम्म नतिरी नबुझाई कर्जासम्बन्धी सर्त तथा बन्देजहरु उल्लंघन गरेको बैंकले जनाएको छ ।

मौखिक तथा लिखित रुपमा कर्जा तिर्न बुझाउन बारम्वार ताकेता गर्दासमेत संस्थाले कर्जाको साँवा, व्याज, हर्जना र अन्य दस्तुर रकम चुक्ता भुक्तानी नगरी आलटाल गरेको बैंकले जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई बुझाउनुपर्ने कर्जाको साँवा, व्याज, तथा हर्जनासमेत बुझाउन सम्बन्धित ऋणी संस्था, धितो जमानतकर्ता र जमानीकर्ताहरुलाई समेत सूचित गरिएको छ ।

उक्त समयभित्र सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरे ऋण लिँदा धितो लिलाम बिक्री गरी सम्पूर्ण रकम असुल उपर गरिने जारी सूचनामा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानुनबमोजिम असुल उपर गर्ने र ऋणी संस्थाका पदाधिकारी तथा जमानीकर्तालाई कालोसूचीमा राखिने बैंकले जनाएको छ ।

शुक्रपथ बहुद्देश्यीय सहकारीको अध्यक्ष सुनया-५, बैतडीका नरेन्द्र बिष्ट हुन् । त्यस्तै उपाध्यक्ष बस्तीपुर-३ सिरहाका बुद्धबहादुर राउत छन् भने सचिवमा बझाङ मटेला-३ का धनपति ओझा छन् ।

कोषाध्यक्षमा जीवनपुर-६ धादिङका दिपेन्द्रकुमार श्रेष्ठ र अन्य सञ्चालकमा जयपृथ्वी-४ बझाङका निरहरिप्रसाद उपाध्याय, बराह-३ सुनसरीका अर्जुन विश्वकर्मा, बैरनी-३ धादिङका महेश केसी र बराह-४ सुनसरीका प्रकाश कँडेल छन् ।

समयमै कर्जा नतिरे संस्थाको नाममा काठमाडौं महानगरपालिका-१३ को कित्ता नम्बर १३ को ५१७.४७ वर्गमिटर रहेको जग्गा र चितवन जिल्ला तत्कालीन पिठुवा गाविस-५ मा रहेको कित्ता नम्बरको ८९२ को क्षेत्रफल ३४२०.१७ वर्ग मिटर रहेको जग्गा लिलामी गरेर असुल उपर गर्ने भएको छ ।

बैंकले काभ्रेको बनेपा नगरपालिका-६ मा रहेको अग्नि बचत तथा ऋण सहकरी संस्थालाई पनि कर्जा तिर्न ३५ दिने सूचना प्रकाशित गरेको छ ।

सहकारीले कर्जा लिँदा जमानी तथा सञ्चालकमा सहकारीको पूर्वअध्यक्षमा कोरौन-३ मोरङका हरि वाशिष्ठ (भट्टराई), अध्यक्षमा ललितपुर महानगरपालिका-१३ का रविन्द्र श्रेष्ठ, पूर्व उपाध्यक्षमा दोलखा-६ दोलखाकी कल्पना श्रेष्ठ र कोषाध्यक्ष काभ्रे-५ पाँचखालकी स्वस्तिका खदाल छिन् ।

यस्तै सदस्यमा काठमाडौं महानगपालिका-२१ का मनिषरत्न शाक्य, पनौती-१ काभ्रेका सुजन थापा, उपाध्यक्षमा ललितपुर-२१ का सुरोज महर्जन, सचिवमा टुकुचा-१ बनेपा काभ्रेका सन्तोष पाण्डे र सदस्यमा पनौती-२ काभ्रेका दिनेश बैद्य र सदस्यमा पनौती-२ काभ्रेका सुहाना श्रेष्ठ छन् ।

बैंकले कर्जा तिर्न एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थालाई पनि ३५ दिने सूचना निकालेको छ । बैंकले सहकारीका सञ्चालक तथा जमानी बसेकाहरुको नामसहित कर्जा तिर्ने बारेको ३५ दिने सूचना निकालेको हो । यो सहकारी एकाघरका परिवारका सदस्यले चलाएका छन् ।

सहकारीको अध्यक्ष काठमाडौं-५ हाँडीगाउँका कान्छाभाइ डंगोल छन् । उनका बुबा बेखानारायण डंगोल हुन् । उपाध्यक्षमा सोही स्थानकी बबिता डंगोल छिन् । उनको हजुरबुबा पनि बेखानारायण डंगोल नै हुन् ।

सचिवमा मानेभन्ज्याङ-९ ओखलढुंगाका दिपक थापामगर छन् भने कोषाध्यक्षमा सुनखानी-२ सिन्धुपाल्चोकका अनिल खड्का छन् । सदस्यमा पालुम्टार-२ गोरखाका कुमार रानामगर र कुन्तादेवी-३ ओखलढुंगाका विष्णुप्रसाद फुयाल छन् ।

सहकारीले बैंकबाट कर्जा लिँदा काठमाडौं जिल्ला तत्कालीन डाँछी (थलिडाँछी) गाविस ८ को कित्ता नम्बर २२१ को ६ आना जग्गा धितोमा राखेको छ । समयमा नै कर्जा नतिरे उक्त जग्गा लिलाम गर्ने सहकारी बैंकले जनाएको छ ।

अन्य धेरै संस्थालाई सहकारी बैंकले कर्जा तिर्न ताकेता गरिरहेको छ । सहकारी संस्थाहरुले लगेको कर्जा समयमा नै नतिरेपछि खराब कर्जा बढ्ने देखिएको छ । स्रोतका अनुसार असार मसान्तमा बैंकको खराब कर्जा करिब साढे ४ प्रतिशत पुग्ने अनुमान भइरहेको छ ।


क्लिकमान्डु