विदेशी मुद्राको सञ्चिति बढ्ने क्रम सुस्त, फेरि कडाइ गर्ने अवस्था आउन सक्ने



राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले विदेशी मुद्राको सञ्चिति २१ महिनायताकै सहज अवस्थामा देखाए पनि पछिल्लो समय युसान्स एलसी (सामान ल्याएको कम्तिमा ३ महिनापछि रकम भुक्तानी गर्ने गरी बैंकले जारी गर्ने ग्यारेन्टी) मार्फत आयात वृद्धि हुनुको साथै चालु खाता घाटामै रहेकाले आगामी दिनमा फेरि कसीलो नीति लिने अवस्था आउने भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २१ महिना यताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो ।

२०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढिरहेको छ ।

वैशाख महिनाको तुलनामा जेठमा विदेशी मुद्राको सञ्चिति ०.८ प्रतिशतले बढेको छ । जुन चालु आर्थिक वर्षको न्यून वृद्धिदर हो । चालु आर्थिक वर्षको साउन १.२१ प्रतिशत र भदौमा ०.७७ प्रतिशतले घटेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढ्दै आएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तमा ९ अर्ब ५३ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति साउनमा घटेर ९ अर्ब ४२ करोड डलर पुगेको थियो ।

भदौमा पनि विदेशी मुद्राको सञ्चिति घटेर ९ अर्ब ३४ करोड डलर पुग्दा विदेशी मुद्रा घट्ने क्रम भने सुस्त भएको थियो ।
गत असोजयता विदेशी मुद्राको सञ्चिति निरन्तर बढिरहेको छ ।

असोजमा विदेशी मुद्राको सञ्चिति १.४१ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड डलर पुगेको थियो । कात्तिकमा १.५६ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेर ९ अर्ब ६२ करोड डलर पुग्यो ।

निरन्तर आयात घटिरहको अवस्थामा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धीले मंसिरमा विदेशी मुद्रा अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले बढेर ९ अर्ब ८१ करोड डलर पुगेको थियो ।

पुसमा चालु आर्थिक वर्षको सबैभन्दा बढी अर्थात् ४.९ प्रतिशतले विदेशी मुद्रा बढेर १० अर्ब ३० करोड डलर पुग्यो । माघमा विदेशी मुद्रा बढे पनि वृद्धिदर घटेर १.९७ प्रतिशतमा झर्‍यो । फागुनमा फेरी वृद्धीदर घटेर १.७६ प्रतिशतमा झर्यो ।

चैतमा भने फेरि वृद्धीदर बढेर २.३८ प्रतिशत र वैशाखमा पनि वृद्धिदर बढ्दै २.४४ प्रतिशत पुगेको थियो । गत वैशाखमा ११ अर्ब २० करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति जेठमा बढेर ११ अर्ब ३० करोड डलर पुग्दा वृद्धिदर ०.८ मा झरेको छ ।

चालु अर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १७ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति ११ महिनाको अवधिमा १८.५ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय आयात बढ्न थालेकाले विदेशी मुद्राले आयात धान्न पुग्ने महिनासमेत घटेको छ । वैशाख महिनाको सञ्चितिले ९.७ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको थियो ।

गत वैशाखमा २ खर्ब १४ अर्ब बचतमा रहेको शोधानान्तरस्थित जेठ महिनामा २ खर्ब २८ अर्बले बचतमा छ । शोधानान्तरस्थिति बचतमा गए पनि पछिल्लो समय आयात बढेसँगै चालु खाताको घाटा बढ्न थालेको छ ।

वैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँ रहेको चालु खाता घाटा जेठमा ६९ अर्ब ४० करोड पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याजदर घटाएसँगै उपभोग बढ्दा आयात बढेपछि रेमिट्यान्स वृद्धिदर १३ प्रतिशत हुँदा समेत चालु खाता घाटामै छ ।

भन्सार विभागका अनुसार जेठ महिनामा चालु आर्थिक वर्षमा सबैभन्दा बढी आयात भएको थियो । असारमा जेठभन्दा बढी आयात हुने सम्भावना हुने भएकाले आगामी दिनमा विदेशी मुद्राको सञ्चिति घट्दै जाने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘जेठमा फागुन र चैतमा युसान्स एलसीमार्फत आयात गरिएकामा सामानको भुक्तानी भएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने,’असारदेखि विदेशी मुद्रा घट्दै जाने सम्भावना छ । आज हामीले प्रकाशित गरेको तथ्यांक २ महिना पुरानो हो ।’

पछिल्लोसमय बैंक तथा वित्तीय संस्थाले एलसी खोल्ने क्रम बढेकाले आगामी दिनमा विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा नहुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

‘अवस्था असहज हुने जस्तो भयो भने फेरि कडाइ गर्नु पर्ने अवस्था आउन सक्छ,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘हामीहरु रियल टाइमको तथ्यांकलाई सुक्ष्म रुपमा हेरिरहेका छौं ।’


शरद ओझा