महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा अर्ब ठग्ने ६९ वटाको फाइल प्रहरीमा



काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, साधारणभाले गरेको निर्णय केही पनि नबुझाएका हुन् ।

काठमाडौं महानगर सहकारी विभागका निर्देशक बलराम त्रिपाठीका अनुसार अहिलेसम्म ९१२ वटा सहकारीले मात्रै वार्षिक विवरण बुझाउने गरेका छन् । यस्तै ६९ वटा सहकारीका सञ्चालक सम्पर्कमा नआएपछि पक्राउ गरेर कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिएको छ । बाँकी २ वटालाई पनि पत्राचार गर्ने तयारी अन्तिम अवस्थामा पुगेको उनले जानकारी दिए ।

‘संस्थाले समयमा नै साधारणसभा गरेको खण्डमा संस्थाको अवस्था थाहा पाइने तथा कुन संस्था कसरी चलेको रहेछ भन्ने यकिन हुने थियो,’ उनले भने, ‘अहिले धेरै संस्थाले वार्षिक प्रतिवेदन र साधारणसभा गरेको जानकारी गराएका छैनन् ।’

विवरण नबुझाउने सहकारीलाई महानगरले साउनसम्म समय दिने भएको छ । साधारणसभा, वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक विवरण बु्झाउन सूचना निकालिसकेको र साउनसम्म पनि नबुझाएको खण्डमा थप सक्रियताका साथ कारबाही प्रक्रिया अघि बढाउने त्रिपाठीको भनाइ छ । सम्पर्कमा नभएका कतिपय सहकारी संघीय विभागबाट महानगरमा हस्तान्तरण हुनुभन्दा अगाडिदेखिका रहेको उनले बताए ।

अहिले सहकारीमा समस्या देखिएको छ । यसको मुख्य कारण सञ्चालकको नियत खराब हुनु, सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुसार नचल्नु, अनुत्पादक क्षेत्रमा लगानी गर्नु, बढी मूल्यांकन गरेर कर्जा दिनु, एकाघरका परिवारका सदस्य र आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्नुलगायत छन् ।

सञ्चालक समितिको बैठक नियमित नबस्ने, सदस्यलाई साधारणसभामा नबोलाउने, सभा समयमा नगर्ने, लेखापरीक्षण प्रतिवेदन साधारणभामा पेस नगर्ने, बिनाधितो ऋण दिने, सञ्चालकले सदस्यलाई ग्राहकको व्यवहार गर्ने र सञ्चालक मालिक बन्न खोज्ने, सञ्चालक आफैंले कर्जा लिएर अपचलन गर्ने जस्ता प्रवृत्तिका कारण समस्या देखिएको त्रिपाठी बताउँछन् ।

भएन अनुगमन

काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रमा रहेका १ हजार ९५५ सहकारीमध्ये ६९ वटा सहकारीविरुद्धको उजुरी प्रहरीमा पुगेको छ । बाँकी कुनै पनि सहकारीको अनुगमन विभागले गरेको छैन । कर्मचारी अभाव भएकाले सहकारीको अनुगमन गर्न नसकिएको निर्देशक त्रिपाठीको भनाइ छ । ‘आगामी आवमा सहकारीको अनुगमनलाई प्रभावकारी बनाउँछौं, साउनबाटै अनुगमन सुरु हुन्छ,’ उनले भने ।

६९ वटा उजुरी प्रहरीमा, थप २ वटा पठाउने तयारी

काठमाडौं महानगरपालिकाले ६९ वटा सहकारी संस्थाका सञ्चालकले बचतकर्तालाई ठगेको भन्दै कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ । महानगरअन्तर्गतको सहकारी विभागले ६९ वटा सहकारीका सञ्चालकले बचतकर्तालाई ठगेको भन्दै पक्राउ गरी कारबाहीका लागि प्रहरी परिसरमा पत्राचार गरेको हो ।

निर्देशक त्रिपाठीका अनुसार थप २ वटा संस्थाका सञ्चालकलाई पक्राउ गर्न पत्र पठाउने तयारी भएको छ । महानगरपालिकाभित्र कार्यक्षेत्र भएका १ हजार ९५५ सहकारीमध्ये बचतकर्ताको बचत हिनामिना गरेको र बचत फिर्ता नगरेको आरोपसहित विभागमा उजुरी परेका थिए । ती उजुरीका आधारमा विभागले पक्राउका लागि प्रहरीमा पत्राचार गरेको हो ।

२०७२ जेठ १२ देखि २०८० असार १७ सम्म २ हजार ७२१ बचतकर्ताले उजुरी दिएका छन् । उनीहरुले करिब सवा १ अर्ब रुपैयाँ माग दाबी गरेका छन् । उजुरी परेपछि संस्थाका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न विभागले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । यो वर्ष नै ८ वटा सहकारीले ठगेको भन्दै उजुरी परेको छ ।

२०८० यता उजुरी पर्ने सहकारीमा क्विक बचत तथा ऋण सहकारी, माँ अम्बे बचत तथा ऋण सहकारी, गरुढ बहुद्देश्यीय सहकारी, अभिमत बचत तथा ऋण, नेसनल बचत तथा ऋण, सम्वर्धन बचत तथा ऋण, नाता बचत तथा ऋण र प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था छन् । गत वर्ष २२ वटा संस्थाले बचतकर्ताको पैसा ठगेको भन्दै महानगरले संस्थाका सञ्चालकलाई पक्राउ गर्न परिसरमा पत्र पठाएको थियो ।

महानगर कार्यक्षेत्र भएर भागेका सहकारीमा ४ वटा बहुद्देश्यीय छन् भने बाँकी बचत तथा ऋण सहकारी संस्था छन् । उनका अनुसार अहिले महानगरमा दैनिक ३-४ वटा सहकारीले रकम ठगी गरेको भन्दै उठाइदिन उजुरी आउने गरेको छ । उजुरी परेको सहकारीका केही सञ्चालक सम्पर्कमा आउने गरेका त्रिपाठीले बताए ।

‘विभागमा उजुरी परेपछि हामी सञ्चालकसँग सम्पर्क गर्छौं, सञ्चालक सम्पर्कमा आएपछि बचतकर्ता र सञ्चालकलाई राखेर छलफल गराउँछौं, सहकारीले बचतकर्ताको पैसा फिर्ता दिने सम्झौता गरेपछि छाड्ने गरेका छौं । त्यति गर्दा पनि पैसा फिर्ता गरेनन् र हाम्रो सम्पर्कमा पनि आएनन् भने कानुनी कारबाहीका लागि प्रहरीमा पत्राचार गर्ने गरेका छौं ।’


सोभित थपलिया