गोल्छा अर्गनाइजेशनको अरिहन्त पोलिप्याकको व्यापार ३१ प्रतिशतले घट्यो, ५१ करोडको कारोबार



काठमाडौं । रुस–युक्रेन युद्धले मूल्य बढ्दा गोल्छा अग्रनाइजेसन अन्तर्गतको अरिहन्त पोलिप्याक लिमिटेडको व्यापार ३१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ९ महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा ३१ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ५१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९८ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ८० करोड २० लाख रुपैयाँ र सन् २०१९ मा ७७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा व्यापार ८ प्रतिशतले घटेको थियो । सन् २०२३ मा रुस–युक्रेनको युद्धले गर्दा पोलिमरको मूल्य महंगो भएको र आर्थिक कारोबारमा कमी आउँदा व्यापार घटेको उल्लेख छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले पोलिप्रोपोलिन (पीपी) र हाइ–डेन्सिटी पोलिथिलिन (एचडीपीइ) ओभन फ्याब्रिक, नन–ओभन फ्याब्रिक, ओभन स्याक, ओभन/नन–ओभन सपिङ ब्याग, टर्पलिन, प्लास्टिक रोप र अन्य उद्योगमा प्रयोग हुने प्याकिङ ब्याग उत्पादन गर्दै आएको छ । कम्पनीमा १४ जनाको स्वामित्व छ ।

राजकुमार गोल्छा प्रबन्ध निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ६ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४७ करोड ९० लाख रुपैयाँ अर्थात् एलसी प्लस र अल्पकालीन कर्जाका लागि ५८ करोड ८० लाख रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गर्दै फ्याब्रिक बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु