आरजुलाई पैसा दिएको बताइएको अडियो भुटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्माको भएको पुष्टि



काठमाडौं । भुटानी शरणार्थी प्रकरणका मतियार मध्येका एक सन्देश शर्माले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु देउवा राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको पाइएको छ ।

अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरीले जनाएको छ ।

आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको भए पनि जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुलाई पनि पैसा दिइएको व्यहोरा रहेको छ । आरजुले त्यसको खन्डन गरेकी थिइन् ।

अडियोमा आवाज रहेका शर्मा हाल नक्कली शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । प्रहरी सँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए ।


क्लिकमान्डु