छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना, कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या उपलब्ध गराउन निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्नका लागि महानगरभित्र रहेका शिक्षण संस्थालाई सूचना जारी गरेको छ ।

महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-०८१ देखि काठमाडौँ महानगरपालिकाले आफैंले गर्ने जनाएको छ । त्यसका लागि एसईई परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने महानगर प्रमुख बालेन्द्र शाहले जनाएका छन् ।

महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९ /०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन महानगरले सूचित गरेको छ ।

त्यस्तै महानगरले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन हुने गरेको भन्दै एसईईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।

बालेनले के भने?

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो प्रकाशन भइसकेको छ । उक्त परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गर्न लागेको हो।

यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९ /०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ। यसका लागि तलको सूचनामा भएको क्युआर स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा थिचेर सोधिएका विवरण भर्न सकिनेछ।

साथै, विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ । यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।

यस सन्दर्भमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ ।


क्लिकमान्डु