दुर्गा प्रसाईंको प्रश्नः मेडिकल कलेज खोल्नु, क्यान्सर अस्पताल बनाउनु अपराध हो ?
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मेडिकल कलेज र क्यान्सर अस्पताल खोल्नु अपराध हो भने दुर्गा प्रसाई अपराधी भएको टिप्पणी गरेका छन् ।
झापाको चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रसाईंले प्रश्न गरे, ‘मेडिकल कलेज खोल्नु अपराध हो ? क्यान्सर अस्पताल खोल्नु अपराध हो ? विद्यालयको भवन बनाउनु अपराध हो ? हो भने दुर्गा प्रसाईं पनि अपराधी हो । होइन भने दुर्गा प्रसाईंलाई मेडिकल माफियाको ट्याग किन लगाइन्छ ?’
कृषि कर्जा बैंकका सञ्चालकले मात्र चलाएको र खास किसानजति रोजगारीका लागि खाडी जानुपरेको उनले बताए । ‘कृषि कर्जा बैंकका सञ्चालकले मात्र चलाएका छन्, किसानजति रोजगारीका लागि खाडीमा पुगेका छन्,’ प्रसाईंले भने, ‘त्यसमध्ये धेरैले कृषि कर्जा लिएर होटलमा लगानी गरेका छन् तर राष्ट्र बैंकलाई वास्ता छैन ।’
बिर्तामोडमा मेडिकल कलेजको रेखांकन गर्न थाल्दा आफूलाई धेरैले पागल भनेको उनले बताए ।
बी एन्सी सी अस्पतालका संस्थापक एवं मेडिकल व्यवसायी प्रसाईंले मोहनमाया माध्यमिक विद्यालयका लागि १२ कोठे भवन निर्माण गरिदिएका छन् ।
प्रसाईंले साढे ४ करोड रुपैयाँ व्यक्तिगत खर्च गरेर १२ कोठासहितको तीन तले भवन निर्माण गरिदिएका हुन् । अध्ययनका लागि ११ कोठा र एउटा प्रशासनिक कार्यका लागि बनाइएको हो ।
सामुदायिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बिहीबार समाजसेवी प्रसाईंलाई भव्य अभिनन्दन गरिएको छ ।
व्यवसायी प्रसाईंले झापाको अर्जुनधारा नगरपालिकामा रहेको सिंहदेवी माविमा पनि अढाई करोड रुपैयाँ व्यक्तिगत लगानीमा विद्यालय भवन निर्माण गरिरहेका छन् ।