पाँचथरमा ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण हुने



काठमाडौं । कोशी प्रदेशको पाँचथरमा ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ मा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको ३३ केभी अमरपुर सबस्टेसनसम्म प्रसारण लाइन बन्ने भएको हो । उक्त प्रसारण लाइन जम्मा १६ किमिको हुने विद्युत विकास विभागले जनाएको छ ।

सो प्रसारण लाइन निर्माणका लागि ईङवा हाइड्रोपावर लिमिडेटले विभागमा अनुमति पत्रका लागि दरखास्त पेश गरेको विभागले जनाएको छ ।

निर्माण हुने प्रसारण लाइनको भोल्टेज ३३ हजार भोल्ट (३३ केभी) हुने तथा डबल सर्किट रहने र ९.७ मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सकिने किसिमको हुने विभागले जनाएको छ ।

प्रसारण लाइनका लागि ३३० वटा स्टिल टुबुलर पोलहरु निर्माण गरिनेछ । पोलको उचाई १३ मिटर रहनेछ भने दुई पोलबीचको दुरी औसतमा ३० देखि ६५ मिटरसम्म रहने विभागले जनाएको छ ।

प्रसारण लाइनको निर्माण कार्य ६ महिनाभित्रमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु