उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजिकरण गर्न ऐन ल्याउन सिएनआईको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच छलफल भएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गरेका हुन् ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए ।

उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए । ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरी पैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानून ल्याउनुपर्ने बताए । उनले औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गरे ।

मेक इन नेपाल स्वदेशी अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरिनुपर्नेमा जोड दिए । भेटमा मन्त्री रिजालले निजी क्षेत्रले नै उद्योग व्यवसाय गर्नुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि सहजीकरण गर्ने बताए ।


क्लिकमान्डु