सहकारीका सदस्यले गतिलो संस्था छानेनन्, अहिले माइतीघरमा उभिने काम गलत होः पौडेल



काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐन प्रभावकारी रुपमा कार्यान्वयन भएको भए अहिले सहकारीमा यस्तो समस्या नदेखिने बताएका छन् ।

रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले ऐन कार्यान्वयनमा अहिले पनि सरकारले चासो नदेखाएको आरोप लगाए । ‘राज्यले ऐन प्रभावकारी रुपमा कार्यान्वयन गरेको थियो भने अहिलेको समस्या आउने थिएन,’ उनले भने ।

सहकारीका सदस्य आफैं संस्थाको मालिक हुने र संस्था जोगाउन मालिक आफैं चनाखो हुनुपर्ने पौडेलले बताए । ‘संस्थाको मालिक, नियन्त्रक, संस्थाको सञ्चालन प्रक्रियामा पनि सदस्यको संलग्नता रहन्छ,’ उनले भने, ‘आफूले संस्था सही नछान्ने, संस्थामा आफ्नो योगदान नगर्ने, अनि अहिले संस्था विचलित भयो भनेर माइतीघरमा उभिएर हुन्छ ?’

यस्तो परम्पराले सही मार्गमा अघि बढ्न नसक्ने उनको तर्क छ । समस्याको समाधान माइतीघर हुन नहुने पौडेलले बताए । ‘होइन भने समस्याको समाधान हुँदैन,’ उनले भने, ‘त्यसका लागि राज्यले सहयोग गर्नुपर्छ ।’

उनले सहकारी व्यवस्था बिग्रियो भने नेपालको अर्थतन्त्रमा समेत असर पर्ने बताए । केही सहकारीले गलत गर्दा समग्र अभियानमा नै समस्या आउने उनको दाबी छ । सहकारीलाई संघीय तथा स्थानीय नियामक निकायले पनि नियमन गर्न नसकेको उनले बताए ।


क्लिकमान्डु