दोखलामा लाप्चे तामाकोशी जलविद्युत आयोजना बन्दै



काठमाडौं । बागमती प्रदेशको दोलखामा लाप्चे तामाकोशी अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । दोलखाको विगु गाउँपालिका भएर बग्ने लाप्चे खोलामा आधारित भएर ४० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको हो ।

विद्युत विकास विभागले प्रकाशित गरेको सूचनाअनुसार डायनामिक हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका गरि विद्युत उत्पादन गर्न अनुमति पत्रको दरखास्त दिएको छ । अर्थजलाशययुक्त नदी प्रहावमा आधारित रहने यो आयोजनाको जडित क्षमता ४० मेगावाट हुनेछ भने डिजाइन बहाव १७.७ घनमिटर प्रतिसेकेन्ड रहनेछ । आयोजनाबाट वार्षिक औसत २३८.१६ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने अनुमान छ ।

आयोजनाका लागि आवश्यक पर्ने संरचना लाप्चे खोलाको दायाँ किनारमा बनाइनेछन् । विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन बाँध बनाइने र त्यसको लम्बाइ १३ मिटर तथा जमिन सतहबाट उचाइ ४.५ मिटर रहनेछ । विद्युत उत्पादनपछि पानीलाई तामाकोशी खोलामा पठाइने विभागले जनाएको छ ।

२०८४ जेठ ११ मा निर्माण सम्पन्न हुने प्रस्ताव गरिएको आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत गृहको स्विचयार्डबाट नेपाल विद्युत प्राधिकरणको ४४ किमी लामो १३२ किलो भोल्टको प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने विभागले जनाएको छ ।


क्लिकमान्डु