मौद्रिक नीतिमा औद्योगिक क्षेत्रका माग समावेश गर्न उद्योग संगठनले भेट्यो अर्थमन्त्री र गर्भनर



विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई आगामी मौद्रिक नीतिमा संगठनको सुझाव बुझाएका छन् ।

यस्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई विद्युतसंग सम्बन्धित समस्याका बारेमा जानकारी गराएका छन् । उनीहरुले विद्युतको दीर्घकालिन समाधानका लागि आग्रह गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाश शरण महतसंगको भेटमा अध्यक्ष्ँ राकेश सुरानाले दीर्घकालीन आर्थिक एवं औद्योगिक विकासका लागी निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे ।

उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिले उद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सिमित हुने गरी ल्याउनु पर्नेमा जोड दिए ।

अर्थमन्त्री महतले उद्योग व्यवासय संचालनका लागि आवश्यक आधारभूत आवश्यकताका रुपमा रहेका वित्तीय व्यवस्थापन, विद्युतको उपलब्धता, पूर्वाधार विकास जस्ता कुरा सरकारको प्राथमिकताको क्षेत्र रहेको बताए ।

उनले निजी क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर उन्मुख हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको बताए ।

यस्तै भेटमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसाय क्षेत्रले व्यवहारिक रुपमा भोग्दै आएका चालुपुँजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा संगठनको सुझाव अनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको बताए । उद्योग व्यवसायको गुनासो सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने स्पष्ट पारे ।


क्लिकमान्डु