ललिता निवासको जग्गामा भवन बनाउन रोक, बनिरहेकालाई रोक्न निर्देशन, अटेर गरे कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन बनाउन रोक लगाउने भएको छ ।
वडा नं. ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण स्वीकृतिका साथै निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नहुने महानगरका प्रमुख बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । उक्त क्षेत्रमा कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राखिने उनले बताए ।
यदी कसैले उल्लेखित क्षेत्रभित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असूल उपर गरिने बजगाईंको भनाइ छ ।
आइतबार ललिता निवासको जग्गामा तारबार गर्ने भन्दै ठूलो संख्यामा महानगर प्रहरी ललिता निवास क्षेत्र पुगेको थियो । महानगर प्रहरी अवैध संरचना हटाउन निर्देशन दिएर फर्किएको थियो ।