साढे १२ अर्ब लगानीमा बुढीगण्डकी बन्ने, प्रतिमेगावाट १२ करोड लागत

काठमाडौं । गोरखा जिल्लाको चुचुमनुव्री गाउँपालिका वडा नम्बर ३, ५ र ६ मा बुढीगण्डकी नदी जलविद्युत आयोजना बन्ने भएको छ ।
प्रस्तावित आयोजनाअनुसार बुढीगण्डकी नदी जलविद्युत आयोजनाबाट ९१.१५ मेगावाट विजुली उत्पादन हुनेछ ।
सूर्य इनर्जी प्रालिले प्रस्ताव गरेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनअनुसार आयोजना निर्माणका लागि १२ अर्ब ६४ करोड ८६ लाख खर्च हुने अनुमान गरेको छ ।
त्यस्तै, प्रतिवेदनमा प्रतिमेगावाट विजुली उत्पादन गर्नका लागि १२ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
आयोजनाबाट सुख्खा मौसममा १५६.९७ गीगावाट आवर (३१.८३ प्रतिशत) र वर्षा मौसममा ३३६.१३ गीगावाट आवर (३८.१७ प्रतिशत) उत्पादन गर्नेछ ।
त्यसैगरी आउटजपश्चात औसत वार्षिक ४९३.१ गीगावाट आवर उर्जा उत्पादन हुनेछ ।
प्रतिवेदनअनुसार विजुली ट्यारिफ वर्षा यामको विजुलीको प्रति किलोआवरको ४.८० रुपैयाँ र सुख्खायामको प्रति किलोआवर ८.४ रुपैयाँ ताकेको छ ।
आयोजना ५ वर्षमा निर्माण हुनेछ । उक्त आयोजनाका लागि १५.५२ हेक्टर क्षेत्रफलको आवश्यक पर्नेछ । स्थायी उद्देश्यको लागि १०३२ हेक्टर र अस्थायी सहायक सुविधाहरुको लागि ५.२ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।