राजेश हार्डवेयर ग्रुपको गोयल इस्पातले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार



काठमाडौं । राजेश हार्डवेयर ग्रुपको गोयल इस्पात प्रालिले एकै वर्ष साढे ६ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ६९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन्  २०२१ मा ५ अर्ब ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा ५९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१८ मा स्थापना भएको उद्योगले पूर्ण क्षमतामा २०२० देखि सञ्चालनमा आई व्यापार सुरु गरेको  थियो । राजेश हार्डवेयरको ४८ प्रतिशत, सिद्धार्थ हार्डवेयरको १० प्रतिशत, सकुन्तलादेवी अग्रवाल, सुमन अग्रवाल र राजकुमार अग्रवालको ४२ प्रतिशत हिस्सा छ ।

कम्पनीले वार्षिक ७२ हजार मेट्रिक टन कालो खालको पाइप तथा स्टिलका सामग्री उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले एचआर/सीआर सिट विलेट आयात गरी स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९० करोड रुपैयाँ र अल्पकालीन कर्जाको रुपमा २ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

सन् २०२० देखि पूर्ण क्षमतामा सञ्चालनमा आएको कम्पनीको व्यापार हरेक वर्ष बढ्दै गएको देखिन्छ । तर, चालु आर्थिक वर्ष निर्माण सामग्रीको मागमा कमी आउँदा ६ महिनाको अवधिमा ५९ प्रतिशतले व्यापार घटेको छ ।

कम्पनीका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा सन् २०२२ को सोही अवधिको तुलनामा ५९ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा ८.६ प्रतिशत नाफा बढाएको छ ।


क्लिकमान्डु