३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई बालेनको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गर्दै कानुनअनुसार केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु समयमा नै पेस गर्ने गरेको नपाइएकाले ३० दिनभित्र यस्ता विवरण महानगरमा बुझाउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको महिनाले ६ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढिमा ३ महिनाभित्र प्रचलित कानुन बमोेजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिएका विवरणहरु महानगरलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

तर, विभिन्न सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखा परीषण प्रतिवेदनजस्ता विवरणहरु महानगरका नबुझाएका कारण ३० दिने सूचना निकाल्दै महानगरले यस्ता सहकारीहरुलाई अल्टिमेटम दिएको हो ।

सहकारी संस्थाहरुले तोकिएको समयमा विवरण बुझाएर अद्यावधिक नगरेमा कानुनअनुसार कारबाही हुने समेत महानगरले जनाएको छ ।


क्लिकमान्डु