सेयर बजारमा उछाल, तीन दिनमा १३० अंकले बढ्यो



काठमाडौं । सेयर बजार मापन गर्ने परिसूचक तीन दिनमा १३०.८४ अंकले बढेको छ ।

साताको पहिलो दिनदेखि नै बढेको बजार मंगलबार पनि कायमै रहेको छ । सेयर बजारमा जारी उछालले लगानीकर्तामा समेत उत्साह थपेको छ ।

मंगलबार बजार मापन गर्ने सूचक ५६.९४ अंकले बढेर परिसूचक २१८६.३६ बिन्दुमा रोकिएको छ । २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजारमा उछाल आउँदा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ४८.२५, विकास बैंक ५३.७०, वित्त ८३, होटल ६०.३९, जलविद्युत ३९.७४, जीवन बीमा ९४.६८, माइक्रोफाइनान्स ३५३.७०, अन्य समूहको उपसूचक ३१.३० अंकले बढ्दा निर्जीबन बीमा समूहको उपसूचक १४.९७ अंकले घटेको छ ।

कारोबारमा २५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै १५ भन्दा बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । कारोबारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको छ ।


क्लिकमान्डु