८२ वर्षीया यामकुमारीले बनाएको गलैँचा अमेरिकासम्म पुग्छ



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१, भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन सामाजिक कार्य सँगसँगै आयआर्जनका काममा पनि सक्रिय छिन् । बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेका छन् ।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्विटरलगायत कपडा बुन्छिन् ।आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उनले जानकारी दिइन् ।

‘अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजाने गर्छन्’, उनले भनिन्।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको पुनले बताइन् ।

फुर्सदको समयलाई बुनाइमा लगाइरहेकी उनले यही पेसाबाट जीविकोपार्जन गरिरहेकी छन् । गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले सुनाइन् ।

‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले जीवन चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेकी छु’, उनले भनिन् ।

झोला, गलबन्दी, स्विटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेका छन् । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने पुनको भनाइ छ ।

तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।

उनले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गरिरहेकी छन् ।

समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व नै गर्न सक्छन् भन्ने उदाहरण पुन बनेकी छन् । विसं २०५२ मा स्थापना भएको गोदावारी आमा समूहलाई उनले २८ वर्षदेखि नेतृत्व गरिरहेकी छन् ।

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्ख्याैली पेसा संरक्षणमा अगुवाइ गर्ने उनको हिम्मत अनुशरणयोग्य छ ।

गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकल रूपमा बसोबास गर्छिन् । गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गरिरहेको छ । रासस


क्लिकमान्डु